सुचना, समाचार र मनोरन्जन

तातोपानी भन्सारबाट पहिलो पटक हेलिकप्टर आयात

काठमाडौँ,

तातोपानी भन्सार नाकाबाट पहिलो पटक हेलिकप्टर आयात गर्न लागिएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले हेलिकप्टर जाँचपासका लागि आइपुगेको बिहीबार बिहान रातोपाटीलाई जानकारी दिए ।

‘हेलिकप्टर आइपुगेको छ । तर, अहिले हामीले भन्सार जाँच पास गरिसकेका छैनौँ । आवश्यक सबै प्रक्रिया पूरा हुन समय लागेको छ । प्रक्रिया पूरा भएसँगै हामी पास गर्छौँ’, उनले रातोपाटीसँग भने ।

तातोपानी भन्सार व्यवस्थापनको ठेक्का लिएको सिल्क ट्रान्स कम्पनीका शाखा प्रमुख अनिरुद्र थापा माउन्टेन हेलिकप्टरर्स कम्पनीले चीनबाट खरिद गरेर उक्त हेलिकप्टर ल्याएको बताए ।

‘बाइ रोड कन्टेनरमा ल्याइएको हो। हिजो हाम्रो सिमानामा छिरेको हो,’ उनले भने ।

उनले भन्सार प्रक्रिया पूरा गरेपछि एक–दुई दिनमा उडाएर काठमाडौँ लैजाने तयारी भइरहेको जानकारी दिए। उक्त हेलिकप्टरको भन्सार चार करोडभन्दा बढी पर्ने बताइएको छ ।

‘अब ठ्याक्कै कति मूल्य त मैले पनि त्यो प्रज्ञापन पत्र हेरेको छैन,’ उनले भने,‘तर करिब चार करोड प्लस हुन्छ भन्ने सुनेको छु।’

आयतकर्ता कम्पनी माउन्टेन हेलिकप्टर्सका रामचन्द्र भुसालले बिहीबार हेलिकप्टरको भन्सार जाँचपास गरिने बताए ।

‘सम्भवतः नेपालमा पहिलो पटक स्थलमार्गबाट हेलिकप्टर आयात भएको हो । यसको लागि र तिर्ने भन्सारबारे छिट्टै जानकारी गराउँछौँ,’ उनले भने ।

भुसालका अनुसार उक्त हेलिकप्टर एयर बस कम्पनीको हो । यो पर्यटन प्रयोजनकै लागि ल्याइएको हेलिकप्टर भएको बताइएको छ । चीनमा एयर बस कम्पनीको प्लान्ट तियाजिन सहरमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.