पोखरा,
पोखरा १२ माटेपानीस्थित हिल प्वाइन्ट सेकेन्डरी स्कुलमा प्राथमिक कक्षामा अध्ययनरत विद्यार्थीका अभिभावक तथा शिक्षकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालय, शिक्षक र अभिभावकको साझा उद्देश्य विद्यार्थीहरू असल र राम्रो बनुन् भन्ने रहेको बताँउदै विद्यालयका सहायक प्राचार्य गंगाराम पौडेलले जीवननोपयोगी सिपका लागि पढाइबाहेक घरका आफ्ना कामहरू, समाचार सुन्ने र पढ्ने, भाषाको अध्ययन गर्ने, संस्कार सिक्ने, समयको महत्व बुझ्ने र समयमा काम गर्ने कुरामा छोराछोरीलाई लगाउनुपर्ने विषयमा जोड दिएका थिए । अहिलेका विद्यार्थीहरूमा मोबाइल, विद्युतीय सामाजिक सञ्जाल र अनलाइन गेमसम्बन्धी समस्याहरू धेरै भएकाले विद्यालय प्रशासन, शिक्षक र अभिभावकहरू पनि चनाखो बन्नुपर्ने बताँए ।

अभिभावकहरूको तर्फबाट मनोहरि पौडेलले बेलाबेलामा विद्यार्थीहरूलाई अभिभावक, शिक्षक र विद्यालयले अभिप्रेरित परामर्श गर्नुपर्ने विषयमा जोड दिदै कुन विद्यार्थी कुन कुन कुरामा कमजोरि रहेको छ त्यसको जानकारी अभिभावकहरुलाई दिदै शिक्षक वर्गले त्यसमा निगरानी गर्नुेपर्ने बताए ।
यसै अवसरमा अभिभावकका जिज्ञासा मेट्दै विद्यालयका सहायक प्राचार्य गंगाराम पौडेल तथा शिक्षक कमल घिमिरे,सुवाश सुवेदीले विद्यार्थीहरूमा अद्भुत प्रतिभा रहेकाले उनीहरूको प्रतिभा पहिचान गरी प्रस्फुटनमा सहयोग गर्ने कार्यमा विद्यालयले जोड दिएको कुरा व्यक्त गर्दै अबको शिक्षा सहकार्यमा आधारित हुनुपर्ने, शिक्षक, विद्यार्थी र अभिभावकबिचको घनिष्ट सम्बन्धबाट मात्र शैक्षिक उद्देश्य पूरा गर्न सकिने धारणा राखे । विद्यार्थीहरू सैद्धान्तिक पढाइका साथ जीवनोपयोगी सिपमा पनि अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।
विद्यालयका प्राचार्य दिवाकर जैसीको उपस्थितिमा भएको कार्यक्रम सहायक प्राचार्य गंगाराम पौडेलको सभापतित्वमा भएको थियो भने शिक्षिका लक्ष्मी चन्दले स्वागत मन्तव्य तथा शिक्षिका नलिन गुरुङले कार्यक्रम सञ्चालन गरेका थिइन् ।