काठमाडौं :
‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको फिल्म ‘रोल नं १’को अग्रिम बुकिङ खुला भएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत सिनेमा हलले अग्रिम बुकिङ खुला गरेका हुन्।
भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यस फिल्मले देशभर करिब १ सय ५० हाहारी शो पाएको रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले जनाएका छन्। पहिलो दिनका लागि क्यूएफएक्सले काठमाडौंमा १६ र काठमाडौंबाहिर दमौलीबाहेक १९ शो दिएको छ। यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआइले आफ्ना ६ वटा चेनमा तीनवटाका दरले १८ शो, वान सिनेमाजले ५ शो र बिग मुभिजले ४ शो दिएका छन्। फिल्मका वितरक करण श्रेष्ठ र छविराज ओझाका अनुसार उपत्यका र मोफसलका केही हलले शो निकाल्न बाँकी रहेकाले शो संख्या अझै थपिनेछ।
‘हरेक विद्यार्थी’को कथा स्लोगन रहेको यस फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन् भने महेश दवाडीले लेखेका हुन्। फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, एवन राज उप्रेती र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल(कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन्। शिवराम श्रेष्ठ डीओपी रहेको यस फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह(निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्।
फिल्मको प्रचारका लागि मुख्य कलाकारसहितको टिम पूर्वी नेपालको झापादेखि पश्चिमको नेपालगञ्जसम्मका विद्यालयहरूमा पुगेर विद्यार्थीहरूसँग अन्तर्क्रिया गरिसकेका छन्। सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले ग्रेडिङ गर्ने क्रममा फिल्मको खुलेर तारिफ गरेपछि निर्माण टिम उत्साहित बनेको छ। ‘पूर्ण बहादुरको सारङ्गी’जस्तै यस फिल्मले पनि बलियो ‘वर्ड अफ माउथ’ पाउनेमा निर्माण टिम विश्वस्त छ। फिल्म प्रदर्शनमा आएपछि दर्शकलाई भेट्न कलाकारहरू पुनः मोफसल र उपत्यकाका हलहरूमा पुग्ने तयारीमा रहेका छन्।