सुचना, समाचार र मनोरन्जन

नेपाली किसानले उत्पादन गरेको मह बिक्री भएन

काठमाडौँ,

नेपाल मौरीपालक महासङ्घका अनुसार यति बेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ । गएको वर्ष यही समयमा ६९ टन मह बिक्री नभएका अवस्थामा थियो ।

तत्कालीन समयमा मौरीपालक कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीकै घरमा गएर गुनासो गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो । तत्कालीन समयमा किसानको दबावका कारण डाबर नेपालले केही परिमाणमा मह खरिद गरेको थियो । किसान भने महको बजारीकरणमा समस्या हुँदा ठूलो मात्रामा मौज्दात रहने अवस्था आएको बताउँदै आएका छन् ।

मौरी विज्ञका अनुसार महको माग नभएर यसरी मह घरमा बसेको होइन, नेपाली महप्रति उपभोक्तामा अझै पूर्ण विश्वास नहुँदा समस्या भएको हो । त्यसमाथि नेपाली मह जम्छ र जमेको मह नक्कली हुन्छ भन्ने सोचले पनि बजारीकरणमा समस्या भएको मौरीपालक महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेको बुझाइ छ । उनले महबारे जानकारी दिने, यसको उपयोगिताबारे छलफल तथा अन्तरक्रियाका साथै बजारीकरणका लागि काठमाण्डौमा मह मेला आयोजना गरिएको बताए ।

मौरी विज्ञ जगदीशभक्त श्रेष्ठका अनुसार मौरीले बिरुवा तथा फूलको रस ल्याएर मह बनाएको हुन्छ । जस्तै तोरीबाट मौरीले ल्याएर बनाएको मह चाँडै जम्छ । त्यसबाहेक मह १३/१४ डिग्रीभन्दा कम तापक्रममा पनि जम्छ । यसरी मह जम्ने प्रक्रियालाई प्राकृतिक मानिन्छ । ‘मह तताउँदा महको केही गुण नष्ट हुन्छ’, श्रेष्ठले भने ।

उहाँका अनुसार महको सेवन औषधि मात्रै होइन, यो पौष्टिक तत्त्वका लागि पनि लाभदायक हुन्छ । महको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ ।

नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेल महको सेवन धेरै कारणले लाभदायक भए पनि बजारीकरणको समस्या भएको बताए । मह बिक्री नभएपछि विगतका वर्षमा मौरीपालकहरू पलायन हुने अवस्थामा समेत पुगेको उहाँको भनाइ छ ।

‘हामी त नेपाली किसानले उत्पादन गरेको मह नै खरिदका लागि सुझाव दिन्छौँ, मह जम्नु प्राकृतिक भएकाले नजम्ने मह नक्कली हुनसक्छ’, उनले भने ।

मह मेलामा भेटिनुभएका चितवनको कालिका नगरपालिका शक्तिखोरका वि एण्ड वि मौरी फर्मका सञ्चालक विकास नेपाल यस प्रकारका मेलाले महको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष राजेन्द्र गौतम नेपालमा जति मह खपत हुनुपर्ने हो त्यो जति उत्पादन हुन नसकेको बताए । उहाँ उत्पादित महले बजार नपाउँदा किसान समस्यामा परेको गुनासो गरेका छन ।

‘नेपाली मह गुणस्तरका हिसाबले राम्रो छ तर यहाँका उपभोक्तालाई बुझाउन सकेका छैनौँ, मह नक्कली हो भन्ने भ्रमले पनि बजारीकरणमा समस्या छ’, उनले भने । उनी उत्पादित महको बजारीकरणमा सरकारले पनि सहयोग गर्नुपर्ने बताए । नेपाली महको अन्तर्राष्ट्रिय बजार राम्रो भए पनि निकै कम परिमाणमा निर्यात भएको उनको भनाइ छ ।

मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईँका अनुसार गएको वर्ष पाँच करोड रुपैयाँभन्दा धेरैको नेपाली मह निर्यात भएको थियो । यसले नेपालमा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा पनि पठाउन सकिन्छ भन्ने सम्भावना देखिएको उनको बुझाइ छ । विभिन्न देशले तय गरेको मापदण्ड अनुसार उत्पादन गर्न सकियो भने मह निर्यात बढाउन सकिने उनले उल्लेख गरे।

मौरीपालक किसानका अनुसार महको बजारीकरणमा मात्रै नभई चरनमा पनि समस्या छ । विषादीका कारण मौरी संरक्षण तथा मौरी चरनका लागि शुल्क तिर्नुपर्नेलगायतका समस्या समाधान गर्न जरुरी रहेको किसान बताउँछन् । किसान आफैँ मह उत्पादन गरेर बजार जान सक्दैनन् । सरकारबाट खाद्य अनुज्ञापत्र लिनुपर्छ । हरेक किसानले प्रोसेसिङ युनिट राख्न सक्दैन । त्यसैले पनि नेपाली मह बिक्री नभएको जानकार बताउँछन् ।

नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घका अध्यक्ष जानुका थापा यी यावत् समस्या बुझाउँदै र महको बजारीकरणका सन्दर्भमा मौरी पालन गर्ने किसानलाई सङ्गठित गरी महको बजारीकरणमा काम गर्नुपर्ने बताए ।

भृकुटीमण्डपमा चलिरहेको मेलामा ४० वटा कक्षमा मह, घार, पोलन, प्रपोलिस, टोपी, ब्रसलगायत सामग्री राखिएको छ । मेलामा सातै प्रदेशका किसानको सहभागिता छ ।

त्यस अवसरमा महसम्बन्धी छलफलसमेत आयोजना गरिएको छ । मह मेलाका संयोजक सुवासचन्द्र घिमिरेका अनुसार मेलामा मौरीपालनका क्षेत्रमा प्रयोग हुने प्रविधि, मौरीका विभिन्न प्रजातिका बारेमा र महसम्बन्धी जानकारी दिइनेछ । उनका अनुसारका मौरीको प्रजाति अनुसार महको गुण, स्वाद र रङ फरक हुन्छ ।

महासङ्घमा आबद्ध किसानले यस वर्षमात्रै २ सय २६ टन मह उत्पादन गरेका छन् । नेपालमा सेरेना मौरीको गोला १२ हजार १ सय ३८ वटा छ भने मेलिफेराको ६ हजार ५ सय गोला छ । सेरेना पाल्ने किसान ७ सय ११ जना र मेलिफेरा मौरी पाल्ने किसान २ सय ७० जना महासङ्घमा आबद्ध छन् ।

Leave A Reply

Your email address will not be published.