काठमाडौं :
शुक्रवार रिलिज हुने फिल्म ‘होस्टेल ३’ को देशभर अग्रिम टिकट बुकिङ खुला भएको छ। अधिकांश हलमा शो खुलेको हो। नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजमा १५ शो तथा वन सिनेमाजमा ९ शो, बिग मुभिजमा ५ शो, र एफक्युब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ शो समावेश छन्। बुधवार साँझसम्म देशभर करिब १२० शो सङ्ख्याको अग्रिम बुकिङ सुरु भएको छ भने बिहीबार दिउसोसम्म करिब २५० शो प्राप्त गर्ने अपेक्षा निर्माताहरूले गरेका छन्। हलहरूले उपलब्ध गराएको शो सङ्ख्या हेर्दा यस फिल्मको व्यापक ओपनिङको प्रक्षेपण गरिएको छ।
‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करण बक्स अफिसमा सफल भएका थिए। यस कारणले नै तेस्रो भागलाई पनि दर्शकको राम्रो साथ मिल्ने अपेक्षा गरिएको छ। यो फिल्म युवा पुस्तालाई लक्षित छ। फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा बढेको थियो । ट्रेलर रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको ट्रेलरले २१ घण्टामा नै १० लाख भ्युज प्राप्त गरेको थियो भने हालसम्म यो क्रम २१ लाख माथि पुगिसकेको छ।
सशान कँडेलले निर्देशक गरेको यस फिल्मको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।
फिल्मको कथा माधव शर्माले लेखेका हुन्, जसले एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन्। फिल्मका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन् ।
फिल्मको छायाङ्कन निर्देशन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन् । चलचित्रका एक्सन निर्देशक हिमाल केसी हुन् । सङ्गीतमा अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल छन् । यसमा यम ओलीको प्रोडक्शन डिजाइन रहेको छ । नृत्य निर्देशन प्रवीण सिंह र रोशन विश्वकर्माले गरेका छन्। यस फिल्मको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन् ।
