काठमाडौं/
नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
तथ्याङ्ककअनुसार होटल उद्योगमा साढे १० अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी रहेको पाइएको छ । देशभरका डेढ लाख होटलमध्ये एक हजार एक सय २१ होटलमा पूर्ण विदेशी लगानी रहेको छ । जसमध्ये एक हजार ७३ होटलमा एकल लगानी र ४८ मा विदेशीको संयुक्त लगानी रहेको पाइएको छ ।
देशभर ५९ होटलमा भने नेपाली र विदेशी लगानीकर्ताको संयुक्त लगानी रहेको सर्वेक्षणमा उल्लेख छ । देशभरि सञ्चालनमा रहेका होटल/रेस्टुरेन्टमध्ये एक लाख ३७ हजार सात सय १६ प्रतिष्ठानका लगानीकर्ता एकल नेपाली नागरिक रहेको पाइएको छ । नेपाली नागरिकको संयुक्त लगानीमा तीन हजार तीन सय २७ होटल/प्रतिष्ठान सञ्चालनमा छन् ।