पोखरा,
पोखरा महानगरपालिका नगर युवा परिषद्को आयोजनामा विविध कार्यक्रम गरी २७ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘विभिन्न सन्दर्भ, साझा आकांक्षा’ (Different Contexts, Common Aspirations) रहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार यस नाराले विश्वभरका युवाका फरक–फरक परिस्थितिका बाबजुद शिक्षा, रोजगारी, स्वास्थ्य, निर्णय प्रक्रियामा सहभागिता र उज्ज्वल भविष्य निर्माणजस्ता साझा आकांक्षालाई जोड दिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले युवाहरुलाई नयाँ अवसर प्रदान गरी उद्यमशीलता र नेतृत्व क्षमताको विकासमार्फत सशक्तीकरण गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले युवाको क्षमता, सिर्जनशीलता र ऊर्जालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न स्थानीय सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले युवालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । युवाको क्षमता विकास, उद्यमशीलता प्रवर्द्धन तथा नेतृत्व विकासलाई प्राथमिकतामा राखेर परिषद्ले आफ्ना गतिविधि अघि बढाइरहेको उहाँको भनाइ थियो । दिवसका अवसरमा युवा सहभागिता र क्षमता विकासमा केन्द्रित विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको छ ।

