सुचना, समाचार र मनोरन्जन

बसुन्धरा भुसाल, चैत्यदेवी, सुनिता कुँवर लगायतका कलाकारहरुको अभिनयमा नयाँ तीज गीत

काठमाडौं :

नेपाली महिलाहरुको महानपर्व तीजको आगमनसँगै नेपाली सांगीतिक बजारमा नयाँ तीज गीत सार्वजनिक हुने क्रम जारी छ। यसैबीच मौलिक तीज संस्कृतिलाई आधुनिक प्रस्तुतीसँग जोड्ने प्रयासस्वरूप वरिष्ठ गायिका देविका बन्दनाले ‘रातो सारी झल्कियो बरिलै’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेकी छन्।

गीतमा गायिकाहरू देविका बन्दनाका साथमा लोकदोहोरी गायिका शान्तिश्री परियार र एलिना चौहानको स्वर रहेको छ। तीजको मौलिक लय, नेपाली महिलाको उत्साह र पर्वको सांस्कृतिक पक्षलाई समेट्ने गरी गीतकार उषा शेरचनले गीतको शब्द रचना गरेकी हुन् भने नरहरि प्रेमी उपाध्यायले संगीत गरेका छन्। राकेश सोनीको संगीत संयोजन रहेको उक्त गीत अकुस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्रले गरेका हुन्।

प्रस्तुत गीतको भिडियोमा  वरिष्ठ कलाकार एवम् चलचित्र कल्याणकारी कोषको अध्यक्ष बसुन्धरा भुसाल, प्रथम नेपाली रंगीन चलचित्र कुमारीको नायिका चैत्य देवी, लोकप्रिय ट्याटु आर्टिस्ट तथा कलाकार सुनिता कुँवरको अभिनय रहेको छ भने गायिका मञ्जु पौडेल, अनिता यादव लगायतका कलाकारहरुको अभिनय तथा नृत्यले भिडियोलाई थप आर्षक बनाएको छ। भिडियोले तीज पर्वमा नेपाली महिलाबीच देखिने आत्मीयता, सांस्कृतिक पहिचान र उत्सवको रौनकलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।

उक्त भिडियोको निर्देशन तथा कोरियोग्राफी सृष्टि घिमिरेले गरेकी हुन् भने भिडियोको छायांकन देवराज आचार्यले गरेका हुन् भने सम्पादन, कलर ग्रेडिङ तथा ग्राफिक्स मनोज कार्कीले गरेका छन् । मेकअप टेकराज पाण्डेको रहेको छ। तीज पर्वलाई लक्षित गरी तयार पारिएको यस गीतमा शब्द, संगीत, गायन र दृश्य प्रस्तुतिबीच सन्तुलन कायम गर्ने प्रयास देखिन्छ।

लोकलयमा आधारित प्रस्तुतिका कारण गीतले तीजका अवसरमा दर्शक–श्रोतामाझ राम्रो स्थान बनाउन सक्ने अपेक्षा गरिएको छ।पछिल्ला वर्षहरूमा तीज गीतमा मौलिकताको बहस भइरहेका बेला ‘रातो सारी झल्कियो बरिलै’ले नेपाली संस्कृति,परम्परा र उत्सवको भावलाई केन्द्रमा राख्दै तीजको मौलिक स्वादलाई पुनः स्मरण गराउने प्रयास गरेको निर्माण पक्षको विश्वास छ।

Leave A Reply

Your email address will not be published.