काठमाडौं :
फिल्म ‘ज्वाइँ साब’मा जिरे खोर्सानीका जिरे अर्थात इशान राउत पनि जोडिएका छन्। एक दशक अघि हाँस्य सिरियल ‘जिरे खुर्सानी’मा बाल–कलाकारको रुपमा अभिनय गरेका उनले फिल्ममा अभिनय गर्न लागेका हुन्।
बसन्त निरौलाको निर्देशनमा तयार भइरहेको फिल्म ‘ज्वाइँ साब’को मकवानपुरको चित्लाङमा छायांकन भइरहेको छ। यस फिल्ममा कलाकार जितु नेपाल,नीति शाह,वुद्दि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारहरुले अभिनय गरिरहेका छन्। २० दिन चित्लाङमा खिचेर यसको निर्माणपक्ष सौराहा र इलाममा बाँकी दृश्य खिच्नेछन्।
राजकुमार पण्डितको प्रस्तुतिमा तयार भइरहेको यो फिल्मलाई मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङले लगानी गर्दैछन्। विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहेको यो फिल्म आगामी तिहारमा रिलिज गर्ने निर्माण पक्षको योजना रहेको छ ।