लमजुङ,
बिहानको उज्यालो पूर्ण रूपमा फैलिन नपाउँदै मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको चहलपहल सुरु हुन्छ । कसैको हातमा दूध र बेलपत्र हुन्छ, कसैले पञ्चामृत बोकेका हुन्छन् भने कसैको मनमा सन्तान प्राप्ति र मनोकामना पूरा हुने विश्वास हुन्छ ।
वर्षभर दर्शनार्थीको आगमन भइरहने यस धार्मिकस्थलमा साउने सोमबार र महाशिवरात्रिका अवसरमा भने श्रद्धालुको विशेष घुइँचो लाग्ने गर्दछ । लमजुङको करापुटारमा अवस्थित इशानेश्वर महादेव मन्दिर धार्मिक आस्था, ऐतिहासिक महत्व र सांस्कृतिक विश्वास बोकेको महत्त्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ ।
विशेषगरी सन्तान प्राप्तिको कामना लिएर आउने भक्तजनको ठूलो विश्वासका कारण यो मन्दिर विशेष धार्मिक आस्थाको केन्द्र बनेको छ । शिव आराधनाको पुरानो परम्परा रहेको यस मन्दिरमा महाशिवरात्रिका अवसरमा रातभर जाग्राम बसेर ‘ठाडो बत्ती’ बाल्ने चलन छ । लामो समयसम्म सन्तान नभएका दम्पतीले श्रद्धापूर्वक ठाडो बत्ती बाल्दा सन्तान प्राप्त हुने तथा अन्य मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण देशका विभिन्न स्थानबाट भक्तजन यहाँ आउने गरेका छन् ।
मन्दिरका पुजारी वामदेव सोतीका अनुसार इशानेश्वर महादेवप्रतिको भक्तजनको विश्वास निकै गहिरो छ । उहाँका अनुसार महाशिवरात्रिका अवसरमा यहाँ ठाडो बत्ती बाल्ने परम्परालाई विशेष महत्वका साथ पालना गरिन्छ । “सन्तान प्राप्त भएपछि महादेवलाई देखाउन पुनः आउने भक्तजन पनि धेरै हुनुहुन्छ”, उहाँ भन्नुहुन्छ । स्थानीय जनश्रुतिअनुसार इशानेश्वर महादेवको सम्बन्ध गोरखाका राजा कृष्ण शाहको कथासँग पनि जोडिन्छ । लामो समयसम्म सन्तान नभएका राजा कृष्ण शाहले महाशिवरात्रिका दिन यहाँ आएर ठाडो बत्ती बालेर पूजा गरेपछि पुत्र प्राप्त भएको र छोराको नाम रुद्र शाह राखिएको विश्वास गरिन्छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–३ की सृजना पौडेलले सन्तान प्राप्तिको कामनासहित २०७५ सालको महाशिवरात्रिमा इशानेश्वर महादेवमा आएर ठाडो बत्ती बाल्नुभएको थियो । उहाँका अनुसार त्यसपछि २०७६ मंसिरमा छोरा जन्मिएको थियो । “मैले २०७५ सालमा शिवरात्रि पर्वमा आएर ठाडो बत्ती बालेकी थिएँ, त्यसपछि २०७६ मंसिरमा छोरा जन्मियो,” उहाँले बताउनुभयो । गोरखाकी विपना थापाको अनुभव पनि यस्तै छ । सन्तान प्राप्तिको कामना लिएर श्रीमान्सहित इशानेश्वर आउनुभएकी उहाँले महाशिवरात्रिका अवसरमा ठाडो बत्ती बाल्नुभएको थियो । पछि छोरा जन्मिएपछि उहाँ सन्तानसहित पुनः मन्दिर दर्शन गर्न आउनुभएको थियो ।
इशानेश्वर महादेव मन्दिरको इतिहास धार्मिक विश्वास र स्थानीय जनश्रुतिसँग गहिरोसँग जोडिएको छ । यस क्षेत्रको व्यवस्थित संरक्षण, प्रचार–प्रसार र विकासका लागि संस्थागत पहल हुँदै आएको इशानेश्वर क्षेत्र विकास समितिका पूर्वअध्यक्ष रामचन्द्र घिमिरे बताउनुहुन्छ । उहाँका अनुसार इशानेश्वर महादेव मन्दिर क्षेत्रको विकास र व्यवस्थापन गर्ने उद्देश्यले विसं २०६५ मा इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समिति गठन गरिएको थियो । त्यसपछि ट्रस्ट समिति गठन गरी मन्दिरको प्रचार–प्रसार, संरक्षण तथा विकासका कामलाई अघि बढाउँदै आएको उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार इशानेश्वर महादेवको परिचय, इतिहास र धार्मिक महत्व समेटिएको पुस्तकसमेत प्रकाशन गरिएको छ । सरकारबाट समेत यस क्षेत्रको धार्मिक महत्वलाई समेटेर प्रचार–प्रसारमा सहयोग भएको उहाँ बताउनुहुन्छ । स्वस्थानी व्रतकथामा उल्लेख भएका धार्मिक प्रसङ्गसँग समेत इशानेश्वर क्षेत्रलाई जोडेर हेर्ने गरिएको घिमिरे बताउनुहुन्छ । सतीदेवीको अङ्ग पतन भएको स्थानका रूपमा यस क्षेत्रलाई धार्मिक आस्थासँग जोड्ने गरिएको उहाँको भनाइ छ । “इशानेश्वर क्षेत्र शिव र सतीको प्रेमको प्रतीकका रूपमा समेत विश्वास गरिदै आएको छ”, उहाँ भन्नुहुन्छ ।
“पछि मानिसहरू यहाँ आएर वसोवास गर्न थाले । खेती गर्ने क्रममा शिवलिङ्ग भेटिएको विश्वास गरिन्छ । त्यसपछि इशानेश्वरको महिमा फैलिँदै गएको हो,” उहाँ भन्नुहुन्छ । इशानेश्वर महादेव मन्दिरको निर्माण विभिन्न कालखण्डमा हुँदै आएको छ । स्थानीय स्रोतका अनुसार १४१४ सालमा तत्कालीन लमजुङका राजा वीरनारायण शाहको पालामा मन्दिर निर्माण भएको विश्वास गरिन्छ । समयक्रममा विभिन्न राजा, स्थानीय समुदाय र सम्बन्धित निकायको सहयोगमा मन्दिर संरक्षण तथा विकासका काम हुँदै आएका छन् । २०७२ सालको भूकम्पबाट मन्दिरमा क्षति पुगेपछि पुरातत्व विभागको सहयोगमा पुरानै शैली कायम राख्दै पुनर्निर्माण गरिएको इशानेश्वर क्षेत्र विकास समितिका पूर्वअध्यक्ष रामचन्द्र घिमिरे बताउनुहुन्छ । उहाँका अनुसार पुरातत्व विभागको करिब रु एक करोड २० लाख ६८ हजार सहयोगमा मन्दिर पुनर्निर्माण गरिएको छ । मन्दिर परिसरमा गौरीशङ्कर मन्दिर र १०८ शिवलिङ्ग निर्माण गरिएको छ । घिमिरे भन्नुहुन्छ, “मन्दिरदेखि करिब साढे दुई सय मिटर माथिसम्म सिँढी निर्माण गर्ने योजना छ ।”
इशानेश्वर क्षेत्र विकास समितिका वर्तमान अध्यक्ष गुणराज घिमिरे मन्दिरको धार्मिक महत्वलाई अझ विस्तार गर्दै संरक्षण, प्रचार–प्रसार र थप पूर्वाधार विकासमा समितिले निरन्तर काम गर्दै आएको बताउनुहुन्छ । पुरातत्व विभागको सहयोगमा मन्दिर पुनर्निर्माण गरिएको र भक्तजनबाट प्राप्त सहयोग तथा चन्दाबाट पनि विभिन्न संरचना निर्माण तथा व्यवस्थापनका काम हुँदै आएको छ । उहाँका अनुसार मन्दिर क्षेत्रमा धार्मिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित गर्न भविष्यमा गुरुकुल सञ्चालन गर्ने योजना रहेको छ ।
स्थानीय धार्मिक मान्यताअनुसार इशानेश्वर क्षेत्रमै देउवा दुरा र पञ्चबहादुर गुरुङले गीतमार्फत ठाडो भाकाको सुरुआत गरेको विश्वास गरिन्छ । महाशिवरात्रिका अवसरमा हरेक वर्ष करिब डेढदेखि दुई लाखसम्म भक्तजन तथा दर्शनार्थी आउने गरेका छन् । साउने सोमबारमा पनि टाढाटाढाबाट भक्तजन आउने र विशेष पूजा–आराधना हुने गरेको उहाँ बताउनुहुन्छ ।
मध्यनेपाल नगरपालिकाका उपप्रमुख सीता गुरुङका अनुसार नगरपालिकाले इशानेश्वर महादेव मन्दिर क्षेत्रको प्रचारप्रसार, संरक्षण र विकासका लागि सहयोग गर्दै आएको छ । “इशानेश्वर महादेव मन्दिरको धार्मिक तथा पर्यटकीय विकासका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्दै आएका छौँ । यस क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेको छ”, गुरुङ भन्नुहुन्छ । उहाँका अनुसार नगरपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय उत्पादनको बजारीकरणलाई समेत प्राथमिकता दिएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको इशानेश्वर महादेव मन्दिरको संरक्षण, प्रचारप्रसार र योजनाबद्ध विकास गर्नसके यो क्षेत्र धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा अझ स्थापित हुनसक्ने देखिन्छ ।a