सुचना, समाचार र मनोरन्जन

‘पेन्सन पट्टा’ नेपाली समाजकै लाहुरे परिवारको कथा

पोखरा,

अभिनेता दयाहाङ राईले चलचित्र ‘पेन्सन पट्टा’ नेपाली समाजकै कथा भएकाले यसले दर्शकलाई आफ्नै जीवन, परिवार र परिवेशसँग जोड्ने विश्वास व्यक्त गरेका छन्।

भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रबारे जानकारी दिन चलचित्र पत्रकार संघ नेपाल, कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले ‘पेन्सन पट्टा’ले प्रेम, भावना, सम्बन्ध र समाजको संरचनालाई सरल ढंगले प्रस्तुत गरेको बताए।

चलचित्रमा आफूले निर्वाह गरेको पात्रको लाउरे परिवारसँग व्यक्तिगत पारिवारिक सम्बन्ध नरहेको स्पष्ट पार्दै राईले नेपाली समाजमा लाउरे परिवारका यस्ता कथा धेरै रहेको उल्लेख गरे।

“लाउरेसँग मेरो पारिवारिक सम्बन्ध छैन। तर छिमेक र नेपाली समाजमा लाउरे परिवारका कथा धेरै छन्,” उनले भने।

तीस–चालीस वर्षअघिको नेपाली समाजमा पेन्सन पट्टाको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै राईले भूतपूर्व गोर्खालीहरूले समाज र देशका लागि पुर्‍याएको योगदानलाई चलचित्रले सम्झाउने बताए।

उनका अनुसार ‘पेन्सन पट्टा’ कुनै एक परिवारको कथा मात्र नभई नेपाली समाजभित्रका भावना, सम्बन्ध र मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने कथा हो।

“पेन्सन पट्टा हरेक समाजको कथा हो। यसले भावना, प्रेम र समाजको संरचनालाई बोल्छ,” राईले भने, “हराएको पेन्सन पट्टा खोज्ने क्रममा समाजको परिवेश र सम्बन्धका विभिन्न पाटा उजागर हुनु चलचित्रको विशेषता हो।”

जीवनको उद्देश्य, प्रेम र सम्बन्धलाई महसुस गर्दै अघि बढ्ने नेपाली समाजको कथा चलचित्रले प्रस्तुत गरेको उनको भनाइ छ। चलचित्रका चरित्रमार्फत नेपाली समाजका विभिन्न मनोविज्ञान बुझ्न पाउनु आफ्ना लागि सुखद अनुभव भएको उनले बताए।

“सिनेमाको चरित्रमार्फत आम नेपाली समाजलाई थोरै भए पनि बुझ्न पाएको छु। पेन्सन पट्टा निकै सरल रूपमा प्रस्तुत गरिएको कथा हो। हरेक वर्गका मानिसले बुझ्न सक्छन् र आफ्नै घरको व्यथा सम्झन सक्छन्,” राईले भने।

आफूलाई लेखनमा रुचि भए पनि तत्कालै निर्देशनमा जाने तयारी नरहेको राईले बताए। “लेखन मन पर्छ, तर आँट्न सकिरहेको छैन। अहिलेलाई काम नै गरौँ भन्ने लाग्छ,” उनले भने।

चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङले आमाले पेन्सन नपाउँदा नेपाली समाजका धेरै परिवारले भोग्दै आएको समस्यालाई चलचित्रको कथाको आधार बनाइएको बताए।

गोर्खालीको निधनपछि परिवारले पेन्सनबापत पाउने सुविधालाई सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने समस्या, पारिवारिक उतारचढाव र सामाजिक परिवेशलाई चलचित्रमा प्रस्तुत गरिएको उनले बताए।

“आमाको पेन्सन नमिल्दा समाजका धेरै परिवारमा समस्या छ। त्यसलाई चलचित्रमार्फत प्रस्तुत गर्नुपर्छ जस्तो लाग्यो र कथा बन्यो,” गुरुङले भने, “यो आम समुदायको कथा हो। पेन्सन पट्टा तपाईँ–हाम्रै समाजको विषयवस्तु हो।”

निर्देशक गुरुङले आफूहरूले आफ्नै परिवेशको कथालाई इमानदारीपूर्वक पर्दामा उतार्ने प्रयास गरेको बताए।

चलचित्रकी अभिनेत्री सोल गुरुङले कथा मन परेकै कारण आफू चलचित्रमा जोडिएको बताइन्। सानैदेखि आफूले हेर्दै आएका अभिनेता दयाहाङ राईसँग काम गर्न पाउनु सुखद अनुभव भएको उल्लेख गर्दै उनले चलचित्र दर्शकले रुचाउने विश्वास व्यक्त गरिन्।

त्यस्तै, अभिनेत्री मनिका गुरुङले पनि चलचित्रको विषयवस्तुले आफूलाई आकर्षित गरेको बताइन्। समयसापेक्ष विषय भएकाले ‘पेन्सन पट्टा’ दर्शकको रोजाइमा पर्ने उनको विश्वास छ।

चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष सन्तोष बस्यालले चलचित्रको प्रचारप्रसारमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे। नेपाली समाजकै कथा र पोखराको ताङतिङलगायत आसपासका क्षेत्रमा छायाङ्कन भएकाले चलचित्रको विषयवस्तुलाई दर्शकमाझ पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उनले बताए।

दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, स्वर्गीय सुनील थापा, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, डिभी गुरुङ, पञ्चसुब्बा गुरुङ (दिलु) लगायतका कलाकारको अभिनय रहेको ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

Leave A Reply

Your email address will not be published.