पोखरा ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट ठुलो धनजनको क्षति भएको रिपोर्टहरू आइरहेका छन् । प्राप्त प्रहरीको पछिल्लो रिर्पोट अनुसार जाजरकोट र रुकुममा गरि १२८ जनाको मृत्यु भएको छ । जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जना मृत्यु भएको खबर छ । यस्तैमा पोखरा महानगरपालिकाले राहत र उद्धारका लागि सहयोग गर्ने वचन सहित फोकल पर्सन तोकेको छ ।
मेयर धनराज आचार्यले बिहानै सामाजिक सञ्जालमा सूचना जारी गर्दै राहत र उद्धारमा सहयोग आवश्यक परे आफूहरू तयार रहेको बताएका हुन् । ‘स्थानीय प्रशासनसँग सम्पर्कको प्रयासमा छौँ । राहत तथा उद्धारमा थप सहयोग जरुरी भएको खबर भएमा पोखरा महानगरपालिका सहयोगका लागि तयार रहेको छ,’ उनले भने, ‘यसको लागि आवश्यक संयोजक र सम्पर्क गर्न विपद् व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र शर्मालाई फोकल पर्सन तोकिएको छ ।’ उनले जाजरकोट र रुकुमका समाजहरूलाई महानगरको सम्पर्कमा आउन आग्रह पनि गरेका छन् ।
जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।भूकम्पको धक्का पोखरा साथै देशैभरजसो महसुश भएको थियो । भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा धनजनको क्षति भएको छ ।
