पोखरा,
लोकसङ्गीतका क्षेत्रमा सक्रिय गायक सुरेन्द्र गुरूङ र गायिका जुना श्रीस मगरको सुमधुर आवाजमा सजिएको नयाँ मौलिक कौरारचुड्का गीत “जाम माया पोखरा” सार्वजनिक भएको छ। गीतको भिडियो सुरेन्द्र गुरूङकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा रेशम गुरूङको शब्द तथा लय रहेको छ भने एरेन्जरको भूमिकामा तेजेन्द्र दुरा रहेका छन् । आकर्षक छायांकन दुर्गा पौडेलले गरेका छन् र निर्देशन पर्सन गुरूङको रहेको छ। भिडियोमा आनन्द गुरूङ र लक्ष्मी गुरूङले अभिनय गरेका छन्। गीतको रेकर्डिङ सुर साधना ज्म् स्टुडियोमा गरिएको हो।
गायक सुरेन्द्र गुरूङ २०६१ सालदेखि नेपाली लोक दोहोरी तथा मौलिक गीत–सङ्गीत क्षेत्रमा सक्रिय छन्। उनले यसअघि “तिम्रै छ तिर्सना”, “झुल्के घाम डाँडैमा”, “पञ्चे बाजाको गीत”, “सालैजो”, “मनको धनी”, “मेरो जीवन साथी”, “तिरिमिरी झ्याइ पार्यो”, “दुई दिनको मायाले”, “तामैको अचार” लगायत एक दर्जनभन्दा बढी लोकप्रिय गीतहरू बजारमा ल्याइसकेका छन्।
गुरूङ गण्डकी प्रदेश लोकदोहोरी प्रतिष्ठानका निबर्तमान अध्यक्ष तथा हाल केन्द्रीय सचिवालय सदस्यका रूपमा पनि क्रियाशील छन्। यस्तै, उनी तमु गुरुङ कलाकार संघ, नेपाल गण्डकी प्रदेशका निबर्तमान अध्यक्ष तथा हाल केन्द्रीय सदस्यसमेत हुन्।
साङ्गीतिक यात्राको क्रममा उनले झन्डै १० देशमा सांगीतिक कार्यक्रम गरिसकेका छन्। “जाम माया पोखरा” गीतले मौलिकता र संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै आधुनिक प्रस्तुतिबाट दर्शक स्रोताको मन जित्ने विश्वास गरिएको छ।
