काठमाडौं :
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले सुरुमा राखेको नाम ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ राखेको थियो। तर, निर्माणपक्षले यसको केही समय अगाडि नाम परिवर्तन गर्यो। बाहुनका ठाउँमा मान्छे राख्यो। हिन्दु धर्मसँग सम्बन्धित केही संस्था र व्यक्तिले अनावश्यक चासो र दबाब दिन थालेपछि नाम परिवर्तन गरेको निर्माणपक्षले प्रष्ट पारेको थियो।
यद्यपि, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ धार्मिक सिनेमा नभएको निर्देशक हिमाल न्यौपानेले बताएका छन्। विषय र प्रसंगले जुरेको नामका आधारमा सिनेमा नै धार्मिक हो कि भन्ने आंशका गरिएको उनको भनाइ छ।
‘हाम्रो सिनेमा धार्मिक होइन । सोसल स्टोरी हो । विषयसँग जोडिएर जनै भन्ने शब्द आइपुगेको मात्रै हो,’निर्देशक न्यौपानेले भने, ‘तर, पनि हामी क्रिएटिभ काम गर्ने मान्छे अनावश्यक झमेलामा फस्न चाहेनौं । काम गर्ने मान्छे काम गरौँमा कि विभिन्न व्यक्ति र संस्थालाई बुझाउँदै हिँडौैं भनेर शब्द परिवर्तन गर्यौँ।’
यद्यपि,निर्देशक न्यौपाने आफूहरूले चाहेको भए पुरानै नाम राखेर फिल्म बनाउन सक्ने बताउँछन्। सर्जकले आफूले चाहेको विषय र नाममा काम गर्न सक्ने उनको भनाइ छ। कसैले पनि कुनै पनि विषयमा सिनेमा बनाउन रोक्न नसक्ने उनी प्रष्ट पार्छन्। सर्जकको अधिकारमा हस्तक्षेप गर्ने प्रयास भइरहेको भन्दै यसमा सरकार चनाखो हुनुपर्नेमा उनको जोड छ।
यो फिल्म भदौ ६ गते रिलिज हुँदै छ। ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा बलियो लाइनअप रहेको छ। फिल्ममा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली,रियर राई,भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना,चुडामणि सिवाकोटी,आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ। फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के।सी सहायक निर्देशक रहेका छन्। फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।
गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ। अलटाइम ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो फिल्म हो।