काठमाडौं/
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालीको स्वास्थ्य परीक्षण स्वदेशमै गर्ने गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गर्ने भएको छ ।
धेरै रोगको परीक्षण नेपालमा नभएर भारत जानुपर्ने बाध्यता अन्त्य गर्न सरकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गर्ने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलका अनुसार क्यान्सर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै गर्नुपर्ने गरी समझदारी–पत्र (एमओयू) मा हस्ताक्षर भइसकेको छ । ‘अब नेपाली नागरिकले क्यान्सर परीक्षणका लागि विदेश जानुपर्ने छैन’, मन्त्री पौडेलले अनलाइनखबरसँग भने ।
मन्त्रालयले पहिलो चरणमा सबै सरकारी अस्पतालहरूसँग एमओयू गर्ने प्रक्रिया अघि बढाएको छ । दोस्रो चरणमा निजी अस्पतालहरूलाई पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्ने गरी एमओयू गर्न प्रोत्साहित गरिने योजना छ ।
वार्षिक रूपमा स्वास्थ्य परीक्षण शुल्कबाट राज्यले करोडौं रुपैयाँ कर प्राप्त गर्ने गरेको छ । सम्पूर्ण परीक्षण स्वदेशमै हुन थालेपछि राज्यको राजश्व संकलनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
केन्द्रीय प्रयोगशालाको क्षमता विस्तारका लागि विस्तृत कार्ययोजना तयार पारिँदैछ । यसमा आवश्यक पूर्वाधार, प्राविधिक उपकरण र दक्ष जनशक्तिको विवरण समेटिने छ ।
योजनाको लागत अनुमान तयार भएपछि स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पठाइने तयारी भइरहेको मन्त्री पौडेलले जानकारी दिए ।