जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउन शुरु गरेको छ ।
जिल्लाका आठ वटै पालिकामा अहिलेसम्म १४९ थान राहदानी घरमै सेवाग्राहीको घरमै पुर्याइएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिनुभयो । प्रशासन कार्यालय र हुलाक कार्यालय जुम्लाबीच सेवाग्राहीको राहदानी घरमै पुर्याउनका लागि भएको सम्झौताअनुसार गत वैशाख २४ गते ६१ थान राहदानी हल्काराबाट घरमै पुगेर प्रदान गरिएको छ ।
यसैगरी वैशाख २८ गते १९ वटा र यही जेठ ५ गते २५ वटा राहदानी घरमै पुर्याइएको छ । गत चैत १३ गते सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत जिल्लामा पहिलो पटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गर्ने लागिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको भनाइ छ ।
जिल्ला हुलाक कार्यालयमार्फत सम्बन्धित राहदानी धनीको घरमै पुर्याउने व्यवस्था गरिएको छ । राहदानी बुझ्दा अनिवार्य रूपमा आफ्नो पहिचान खुल्ने आधिकारिक सरकारी कागजात (नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली) साथमा राख्नुपर्नेछ ।
नागरिकको राहदानी घरमै वितरणका लागि हुलाक कार्यालयले हल्कारामार्फत बढीमा तीन दिनभित्र सेवाग्राहीको घरमै सुरक्षित रूपमा पुर्याउने हुलाक कार्यालय जुम्लाले जनाएको छ ।