काठमाडौं ।
आगामी जेठ ८ गते बिहीबारदेखि देशभरका हलहरूमा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र ‘काजी’ को अग्रिम टिकट बुकिङ खुला गरिएको छ। देशका विभिन्न सिनेमा हलहरूले बुधबारदेखि नै फिल्मको अग्रिम टिकट बुकिङ खुला गरेका हुन्।
टिकट बुकिङ खुलेसँगै फिल्मले प्रमुख हलहरूमा सुखद शो पाएको छ। क्यूएफएक्स सिनेमाजले आफ्नो चेनअन्तर्गतका राइजिङ मल (काठमाडौं),पोखरा, वीरगञ्ज, इटहरी, दमौली, बिर्तामोड, नारायणघाट, नेपालगञ्ज र बुटवलका हलहरूमा बुकिङ खुलाएको छ। क्यूएफएक्सले सुरुवातमा उपत्यकामा १३ र उपत्यका बाहिर १७ शो गरी देशभर कुल ३० शो दिएको छ।
त्यस्तै, आईएनआई (INI) सिनेमाजले सिमरा, नवलपरासी, बुटवलसहित काठमाडौंका लोत्से मल, विश्वज्योति सिनेमाज र एनबी सेन्टरमा गरी १९ शो उपलब्ध गराएको छ। यसैगरी वान सिनेमाजले ७ शो र बिग मुभिजले २ शो दिएका छन्। अन्य हलहरूले शो खुलाउन बाँकी रहँदै फिल्मले पहिलो दिनमै ६० शो पाइसकेको छ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा रामप्रसाद रिजालको प्रस्तुति रहेको छ। काजी र काजिनीको प्रेमकथामा आधारित यस चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् भने लेखक प्रदीप भारद्वाजको कथा रहेको छ। फिल्मको निर्मातामा नेहान रिजाल र विकासराज जोशी तथा कार्यकारी निर्मातामा असिम काफ्ले रहेका छन्।
फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन्। उनीहरूका साथमा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दीक्षिता अर्याल लगायतको अभिनय रहेको छ।
चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, विपिन मल्लको सम्पादन र बनिश शाहको सुपरभाइजर सम्पादन रहेको यस फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरणको जिम्मा लिएको छ।