काठमाडौं :
नेपाली अभिनेता,निर्माता बिक्रम डि.जोशीले निर्माण गरेको अंग्रेजी फिल्म ‘कामा’ बेलायतको ११ औं नेशनल फिल्म अवार्डस्–२०२५ मा मनोनीत भएको छ। लामो समयदेखि बेलायतमा बस्दै आएका निर्माता जोशीको नयाँ फिल्म ‘कामा’ वेस्ट इन्डिपेन्डेन्ट फिल्म क्याटागोरीमा मनोनित भएको हो। गत मार्च दोश्रो साता बेलायतका बिभिन्न शहरका हलमा प्रदर्शन भइ दर्शकको मन जितेको अंग्रेजी भाषाको क्राइम सस्पेन्स फिल्म ‘कामा’ सँगै सो बिधाको प्रतिस्पर्धामा ‘ट्रेडिङ वाटर’,‘डिमाइस’,‘बिफोर निक्काहा’,‘ल्याला’,‘ब्ल्याक क्याव’,‘फोर मर्दस्’,‘अ ब्रदर्स बोन्ड’,‘डोन्ट टर्न आउट दि लाइटस्’,‘कुक्सटर–द डार्केष्ट डेज’ र ‘रेपुटेशन’ नामका ब्रिटिश फिल्महरु छन्।
कडा प्रतिस्पर्धा हुने सो अवार्डको बिजेता २ जुलाईमा लण्डनको पोर्चेष्टर हलमा भब्य समारोहका बीच घोषणा गरिने छ। अवार्ड आयोजक नेशनल फिल्म एकेडेमी,बेलायतले १९ मेमा २०२५ को नेशनल फिल्म अवार्डस्को नोमिनेशन सार्वजनीक गर्दै सर्वसाधारणका लागि १९ जुन अर्थात एक महिनासम्म पब्लिक भोटिङ खुल्ला गरिएको आफ्नो वेवसाइटमा उल्लेख गरेको छ।
बिभिन्न बिधामा मनोनीत फिल्म तथा कलाकार मध्येबाट सर्वसाधारणको मतको आधारमा बिजेता घोषणा गरिने जनाइएको छ। जसका लागि निर्माता जोशीले ‘कामा’ लाई मत दिइ जिताउनु हुन बिश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीमा आव्हान गरेका छन्। ‘बेलायतको नेशनल अवार्डमा मनोनीत हुनु हामी सबैका लागि गर्वको कुरा हो,’ उनी भन्छन्,‘त्यसकारण सबैले ‘कामा’ लाई भोट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’