पोखरा,
पोखरालाई स्वास्थ्य र आरोग्य पर्यटनको हबका रूपमा विकास गर्ने उद्देश्य अनुरूप सरोकारवालाहरूका बिचमा राष्ट्रिय स्तरको कार्यशाला गरिएको छ । स्वास्थ्य विज्ञान तथा आरोग्ययताको क्षेत्रमा क्रियाशील विज्ञहरू सम्मिलित मेडिकनेक्टको आयोजना तथा व्यवस्थापनमा आयोजित कार्यशालामा पोखरालाई स्वास्थ्य र आरोग्य पर्यटन हबका रूपमा विकास गर्न आवश्यक सम्भावनाका विषयमा विचार विमर्श गरिएको थियो ।
वक्ताहरुले पर्यटनको राजधानि पोखरामा स्वास्थ्य तथा आरोग्य पर्यटन (Medical & Wellness Tourism) को केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा स्वास्थ्य, प्रकृति, संस्कृति र साहसिक पर्यटनलाई एकसाथ जोड्न सकिने उल्लेख गर्नुभयो। उनले भने, “पोखरा ध्यान, योग र आरोग्यसँगै स्वास्थ्य सेवा प्रवद्र्धन गर्न सकिने प्राकृतिक शहर हो। अब यसलाई वेलनेस गन्तव्यका रूपमा विकास गर्नुपर्छ।”
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले नेपाल स्वास्थ्य र वेलनेस पर्यटनका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने बताउँदै मापदण्ड तयार गरी योजनाबद्ध ढंगले अगाडि बढ्न सुझाव दिए । उनका अनुसार, “पोखराको प्राकृतिक वातावरण, शान्ति र स्वच्छताले अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सक्छ।”
पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले विश्वकै वेलनेस गन्तव्य बन्ने क्षमता पोखरामा रहेको उल्लेख गर्दै, विगतमा मणिपाल शिक्षण अस्पतालमार्फत विदेशी नागरिकहरूलाई आकर्षित गरेको उदाहरण प्रस्तुत गर्नुभयो। उनले मेडिकल अध्ययन र उपचार दुवै क्षेत्रले नेपालको जिडिपीमा महत्वपूर्ण योगदान दिन सक्ने बताए ।