सुचना, समाचार र मनोरन्जन

अशोक दर्जीको चलचित्र ‘मन बिनाको धन’ लाई यूनिभर्सल’ सर्टिफिकेट,सबैले हेर्न मिल्ने

काठमाडौँ :

आगामी शुक्रबार (कार्तिक २१ गते) बाट देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित फिल्म ‘मन बिनाको धन’ ले सेन्सर पास प्राप्त गरेको छ। फिल्म जाँच पास समितिले यसलाई ‘युनिभर्सल’ सर्टिफिकेट प्रदान गरेको हो, जसका कारण सबै उमेर समूहका दर्शकले यो फिल्म सहजै हेर्न पाउने भएका छन्।

सेन्सर बोर्डका सदस्यहरूका अनुसार अशोक दर्जीको जीवनसंघर्ष र प्रेरणादायी कथामा आधारित ‘मन बिनाको धन’ निकै राम्रो बनेको छ। समितिका सदस्यहरूले फिल्मको विषयवस्तु, अभिनय र प्रस्तुति शैलिको खुलेर प्रशंसा गर्दै सफलताको शुभकामना समेत दिएका छन्।

फिल्मका निर्देशक टंक बुढाथोकीले ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले आफूलाई ठूलो हौसला मिलेको बताउँदै भने, “दर्शकले ट्रेलर मन पराएझैं फिल्म पनि मन पराउने विश्वास लिएको छु।” ट्रेलरले युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ, जसले फिल्मको लोकप्रियता र दर्शकको उत्सुकता देखाउँछ।

अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा लगायतका कलाकारहरूले अभिनय गरेको यो फिल्मले समाजिक सन्देशसहितको कथालाई प्रस्तुत गरेको छ। बाटोमा गीत गाउँदै माग्दै हिँड्ने अवस्थाबाट चर्चित गायक बनेका अशोक दर्जीको जीवन प्रेरणामा आधारित यो फिल्मले उनको संघर्ष र परिवर्तनलाई पर्दामा उतारेको छ।

फिल्मको कथा निर्देशक टंक बुढाथोकी आफैंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका छन्। टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा विष्णुमाया मैनाली निर्माताको रूपमा, सपना शर्मा (सपना) कार्यकारी निर्माताको रूपमा र जी.पी. संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्माताको रूपमा छन्।

फिल्मका संगीत टंक बुढाथोकी, छायांकन सौरभ लामा, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, सम्पादन मित्र डी. गुरुङ, र मुख्य सहायक निर्देशन नवराज शर्माले गरेका छन्। फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।

प्रचार सामग्री र ट्रेलरमार्फत उत्कृष्ट हाइप बनाएको यस फिल्मले सुखद व्यापारिक ओपनिङको अपेक्षा गरिएको छ। ‘मन बिनाको धन’ सामाजिक भावनामा आधारित एक पारिवारिक तथा मनोरञ्जनात्मक फिल्मका रूपमा शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ।

Leave A Reply

Your email address will not be published.