पोखरा,
बाढीका कारण हराएका नागरिकको खोजी तथा फेला परेका शवको पहिचानलाई सहज बनाउन जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष व्यवस्था मिलाएको छ। कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीको पहलमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिजिटल डिस्प्लेसहितको विशेष हेल्प डेस्क सञ्चालन गरिएको हो।
बाढीपछि आफन्तको खोजी तथा शव पहिचानका लागि प्रतिष्ठान पुगेका पीडित परिवारलाई आवश्यक सूचना तथा प्रक्रियाबारे सहजीकरण गर्ने उद्देश्यले प्रहरी निरीक्षकको नेतृत्वमा छुट्टै हेल्प डेस्क स्थापना गरिएको प्रहरीले जनाएको छ।
फेला परेका शवको विवरण तथा पहिचान प्रक्रियालाई सहज बनाउन सबैले देख्ने स्थानमा डिजिटल डिस्प्ले बोर्ड राखिएको छ। यसबाट आफन्तको खोजीमा आएका नागरिकले उपलब्ध सूचनामा सहज पहुँच पाउने र पहिचान प्रक्रिया थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

आफन्त हराएको सूचना प्राप्त हुनासाथ तत्काल निवेदन दर्ता गर्ने, आवश्यक खोजी तथा प्रहरी टोली परिचालन गर्ने र फेला परेका शवको पहिचानका लागि सम्बन्धित परिवारसँग समन्वय गर्ने व्यवस्था मिलाइएको छ।
बाढीबाट प्रभावित परिवार मानसिक तनाव र पीडामा रहेको अवस्थालाई ध्यानमा राख्दै प्रहरीले कानुनी प्रक्रिया तथा आवश्यक जानकारी उपलब्ध गराउनुका साथै मानवीय संवेदनासहित सेवा प्रवाहमा जोड दिएको जनाएको छ।
एसपी नवीन कार्कीले समेत सेवाग्राहीको अवस्था प्रत्यक्ष रूपमा बुझ्दै मातहतका प्रहरी टोलीलाई छिटो, व्यवस्थित र नतिजामुखी ढंगले काम गर्न निर्देशन दिएका छन्। साथै हराइरहेका नागरिकको खोजी तथा शव पहिचानका लागि आवश्यक अन्तरजिल्ला समन्वयलाई समेत तीव्र बनाइएको प्रहरीले जनाएको छ।
पीडित परिवारलाई सूचना लिन तथा आवश्यक प्रक्रियाका लागि सहज वातावरण उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको हेल्प डेस्कले विपद्को समयमा प्रहरी सेवा प्रवाहलाई थप नागरिकमैत्री र प्रविधिमैत्री बनाएको छ।