सुचना, समाचार र मनोरन्जन

तारानाथ ढुंगानाद्वारा पोउवा संघको महासचिव पदका लागि उम्मेदवारी

पोखरा,

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशनमा तारानाथ ढुंगानाले महासचिव पदका लागि उम्मेदवारी प्रस्तुत गरेका छन्। व्यवसायीको आवाजलाई अझ सशक्त बनाउँदै संघलाई सक्रिय, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धतासहित आफू चुनावी मैदानमा उत्रिएको ढुंगानाले बताएका छन्।

संघको सात दशकभन्दा लामो गौरवपूर्ण इतिहासको चर्चा गर्दै ढुंगानाले पोखराको उद्योग, व्यापार, व्यवसाय र सामाजिक विकासमा संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। अब विगतको विरासतलाई सम्मान गर्दै समयअनुकूल, व्यवस्थित र व्यवसायीमैत्री संघ निर्माण गर्नुपर्ने उनको भनाइ छ।

“व्यवसाय केवल व्यक्तिगत पेशा होइन। व्यवसाय रोजगारी हो, राज्यको राजस्व हो, परिवारको भविष्य हो र समग्र अर्थतन्त्रको मेरुदण्ड हो,” ढुंगानाले भने, “त्यसैले व्यवसायीको समस्या कुनै एक व्यक्तिको मात्र होइन, हामी सबैको साझा समस्या हो।”
बैंकको ब्याजदर, कर तथा राजस्वसम्बन्धी जटिलता, बजारको अस्थिरता, प्रशासनिक झन्झट र लगानीमैत्री वातावरणको अभावजस्ता समस्याले व्यवसायीलाई चुनौती थपिरहेको उल्लेख गर्दै उनले महासचिव पदलाई केवल पदका रूपमा नभई व्यवसायी र सरोकारवाला निकायबीच प्रभावकारी सेतुको जिम्मेवारीका रूपमा लिएको बताए।

व्यवसायीका समस्या सुन्ने, सम्बन्धित निकायसम्म दृढतापूर्वक पुर्‍याउने र समाधानका लागि निरन्तर पहल गर्ने उनको प्रमुख प्रतिबद्धता छ।

“मसँग ठूला आश्वासनको सूची छैन। तर बोलेको कुरा पूरा गर्न इमानदार प्रयास गर्नेछु, लिएको जिम्मेवारीबाट पछि हट्ने छैन र व्यवसायीको हकहितका विषयमा सम्झौता गर्ने छैन,” उनले स्पष्ट पारे।

ढुंगानाले आफू कुनै एउटा समूह वा वर्गको मात्र नभई साना व्यवसायीदेखि ठूला उद्योगी, नयाँ पुस्ताका उद्यमीदेखि अग्रज व्यवसायीसम्म सबैको साझा उम्मेदवार बन्न चाहेको बताएका छन्।
उनले समस्या पर्दा व्यवसायीले सबैभन्दा पहिले संघलाई सम्झन सक्ने वातावरण निर्माण, आफ्ना समस्या निर्धक्कसँग राख्न सक्ने संरचना, संघका गतिविधिमा पारदर्शिता तथा सबै व्यवसायीले अपनत्व महसुस गर्ने साझा नेतृत्व विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्।

“इतिहास हामीसँग छ, अनुभव हामीसँग छ र क्षमता पनि हामीसँग छ। अब आवश्यकता इमानदार, सक्रिय र परिणाममुखी नेतृत्वको हो,” ढुंगानाले भने।

उनले आफ्नो चुनावी अभियानको मूल सन्देशसमेत स्पष्ट पारेका छन्-
“व्यवसायीको आवाज बुलन्द बनाउन,
संघलाई अझ सशक्त बनाउन—
महासचिवमा तारानाथ ढुंगाना!”
त्यस्तै, “तपाईंको मत, हाम्रो जिम्मेवारी—व्यवसायीको हितमा निरन्तर खबरदारी” लाई उनले आफ्नो अर्को प्रमुख प्रतिबद्धताका रूपमा अघि सारेका छन्।

ढुंगानाले व्यवसायीहरूसँग मतसँगै विश्वास र सहकार्यको अवसर मागेका छन्। उम्मेदवार छनोट गर्दा अनुभव, सक्रियता, प्रतिबद्धता र काम गर्ने क्षमतालाई आधार बनाउनसमेत उनले आग्रह गरे।

“तपाईंको एक मत केवल एउटा उम्मेदवारका लागि होइन, व्यवसायीको बलियो आवाजका लागि हो। यो केवल चुनावका लागि होइन, संघको आगामी यात्राका लागि हो,” ढुंगानाले भने।
व्यवसायीको पक्षमा आवाज, समस्यामा साथ, काममा प्रतिबद्धता र नेतृत्वमा स्पष्टता आफ्नो चुनावी यात्राको आधार रहेको बताउँदै उनले सम्पूर्ण उद्योगी–व्यवसायीसँग अमूल्य मत, साथ र विश्वासको अपेक्षा गरेका छन्।

Leave A Reply

Your email address will not be published.