काठमाडौं :
आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐँचो पैँचो’को टिम प्रचारप्रसारमा व्यस्त रहेको छ । केही दिन अघि कलेज क्याम्पियनबाट सुरु भएको निर्माण टिम अहिले विभिन्न टेलिभिजन रियालिटी शोमा समेत केन्द्रित हुन थालेको छ ।
मंगलबार फिल्मको निर्माण टिम नेपालको सवैभन्दा ठुलो पुरस्कार राशी भएको ‘मेरो डान्स युनिभर्स’को फाइनलमा पुगेको थियो । फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता सुशिल सिटौला शोको ग्राण्ड फिनालेमा पुगेका हुन् । यो रियालिटी शो ‘मेरो डान्स युनिभर्स’को फाइनल केही सातामा प्रसारण हुने आयोजक संस्थाले जानकारी दिएको छ।
गीत संगीत र सार्वजनिक टिजरमा कारण चर्चामा भइरहेको अवस्थामा निर्माण टिमले थप गृहकार्य गरिरहेको छ । निर्देशक कृर्षा चौलागाईका अनुसार आगामी शुक्रबार ट्रेलर सार्वजनिक गर्ने तयारीमा भइरहेको छ। केहि दिन अघि निर्माण टिम फिल्म सफलताको कामनाका लागि निर्देशक चौलागाई र निर्माता विशाल चौलागाई मुम्बईको सिद्धिविनायक मन्दिरमा पुजाआजा गरेर नेपाल फर्किएका थिए।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको बिहीबार सार्वजनिक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।
प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
फोटो : सफल गनेजो