काठमाडौं :
‘संगीत शिक्षाको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय लोक साँस्कृतिक संघको आयोजनामा काठमाडौंको कपन स्थित रिलायन्स इन्टरनेशनल एकेडेमीमा कार्यक्रम सम्पन्न गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा संघका महासचिव योगेन्द्र उपाध्यायले संगीत शिक्षाको महत्वका बारेमा सहभागीहरुलाई प्रष्ट पारेका थिए । संगीतमै स्नातकोत्तर गरेका योगेन्द्रले संगीतको औपचारिक अध्ययन गरेर संगीतमा लाग्नुका फाइदाहरुबारे सहभागीलाई जानकारी गराएका थिए ।
अनौपचारिक शिक्षा र औपचारिक शिक्षा बीचको भिन्नता केलाउँदै उनले स्कूलबाट नै संगीतको औपचारिक पढाई हुनुपर्नेमा जोड दिए । पछिल्लो समय संगीतको औपचारिक अध्ययन गर्न बिद्यार्थीहरुको संख्या दिनानुदिन बढीरहेको सन्दर्भमा उनले जग बलियो बनाउनका लागि स्कूलबाट नै संगीतको औपचारिक अध्ययन आवश्यक रहेको बताए । अहिले प्लस टुबाट मात्र संगीतको औपचारिक अध्ययन गर्न पाइने व्यवस्था छ ।
यस्तै कार्यक्रममा भ्वाइस अफ नेपाल किड्स सिजन २ का उपविजेता रिजन डाँगीले पनि संगीत सिकेर मात्र संगीतमा लाग्न सुझाव दिएका छन् । उनले विद्यालय स्तरमा संगीतको औपचारिक पाठ्यक्रम नहुँदा आफुले सैद्धान्तिक ज्ञान लिन नसकेको स्पष्ट पारे ।
यस्तै एकेडेमीका सहायक प्रिन्सिपल दामोदर निरौलाले आफुहरुले अतिरिक्त क्रियाकलाप अन्र्तगत भएपनि नियमित रुपमा संगीतको अध्यापन गराउँदै गराउँदै आएको जनाए । उनले संगीत शिक्षाको महत्वबारे आफु पनि सचेत रहेको जनाउँदै स्कूलका लागि संगीतको पाठ्यक्रम बिकास हुनुपर्ने पक्षमा रहेको बताए ।
बिभिन्न कक्षामा अध्ययनरत् दुई सय भन्दा बढी बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रमका बिद्यार्थीहरुले समेत संगीत शिक्षाबारे चासो राखेका थिए । बाल गायक तथा एकेडेमीका बिद्यार्थी जेम्स महराले आफु भित्रको प्रतिभा प्रष्फुटनका लागि यस्ता कार्यक्रमहरुले प्रेरणा प्रदान गर्ने जनाए ।
कार्यक्रममा राष्ट्रिय सष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाई, पिम नेपालका अध्यक्ष माधवराज खरेल, चलचित्र पत्रकार संघका पूर्व उपाध्यक्ष बिष्णुप्रसाद सुबेदी, संगीत शिक्षक सुवास चन्द्र जोशी, शिक्षक श्रीधर पौडेललगायतले संगीत शिक्षाको बारेमा आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बालगायकद्वय रिजन डाँगी र जेम्स महराले गीत समेत प्रस्तुत गरेका थिए ।