काठमाडौं :
ब्रिटिस काउन्सिल नेपालले आयोजना गर्न लागेको ‘यूके फिल्म स्टडी टूर २०२५’मा सहभागी हुन चार जना नेपाली फिल्मकर्मी चयन भएका छन्।
बेलायत भ्रमणका लागि अभिनेत्री केकी अधिकारी, फिल्म समीक्षक तथा लेखक अभिमन्यू दीक्षित, निर्देशक निमागेलु लामा र शान्ता नेपाली छनोट भएका हुन्। उनीहरू आगामी दिनमा बेलायत प्रस्थान गर्ने छन्।
ब्रिटिस काउन्सिलले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ कि यस भ्रमणको उद्देश्य फिल्मको माध्यमबाट नेपाल र बेलायतबीचको सांस्कृतिक सम्बन्ध सुदृढ पार्ने हो।
काउन्सिलका अनुसार,‘नेपाली गतिशील फिल्ममेकरहरूको प्रतिनिधिमण्डल बेलायतको यात्रा गर्दैछ, जसले नेपालका उदीयमान प्रतिभालाई बेलायतको विश्व(अग्रणी फिल्म उद्योगसँग जोड्नेछ — उत्पादन, नीति, शिक्षा र नवप्रवर्तनका क्षेत्रमा।’
भ्रमणका क्रममा चारै फिल्मकर्मीले बेलायतका प्रमुख फिल्म कम्पनीहरूसँग अन्तरक्रिया गर्ने, बीएफआई लन्डन फिल्म फेस्टिभलमा सहभागी हुने र सह(निर्माण तथा सिकाइका अवसरबारे अध्ययन गर्ने कार्यक्रम रहेको बताइएको छ।
ब्रिटिस काउन्सिलले यो पहलबाट नेपाली सिनेमा क्षेत्रमा नयाँ प्रेरणा र अन्तर्राष्ट्रिय दृष्टिकोण आउने विश्वास व्यक्त गरेको छ। साथै, यसले काठमाडौं, ब्राडफोर्ड र ब्रिस्टलबीचको सहकार्यलाई पनि प्रबर्धन गर्नेछ — यी सबै शहर युनेस्कोद्वारा ‘फिल्मको रचनात्मक शहर’का रूपमा मान्यता प्राप्त छन्।
छनोटमा परेकी केकी अधिकारी, अभिमन्यू दीक्षित, निमागेलु लामा र शान्ता नेपालीले सामाजिक सञ्जालमार्फत आफूहरूलाई यो अवसर मिलेकोमा खुसी र आभार व्यक्त गरेका छन्।