सुचना, समाचार र मनोरन्जन

निर्देशक निश्चल बस्नेतको आग्रह : बालेन र हर्क दुबै एक ठाउँमा आउनुस्, देशलाई एकताको सन्देश चाहिएको छ

काठमाडौं : 

निर्देशक तथा अभिनेता निश्चल बस्नेतले काठमाडौं महानगर प्रमुख बालेन शाह र धरानका मेयर हर्क साम्पाङबीच पछिल्ला दिनमा देखिएको मतभेदका बीच एकताको सन्देश दिँदै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्।

बस्नेतले आफ्नो फेसबुकमार्फत दुवै जनालाई देशहितका लागि एक ठाउँमा आउन आग्रह गरेका छन्। उनले लेखेका छन्, “बालेन बिरुद्ध फैलाइएका नकारात्मक कुराहरूको प्रमाण माग्नुहोस् हल्ला फैलाउनेहरूसँग। प्रमाण भए हामी संगै जाऔंला मुद्दा दर्ता गर्न।”

उनले बालेन शाहप्रति आफ्नो विश्वास व्यक्त गर्दै लेखेका छन्, “बालेनको देशप्रतिको माया उसको गीत, शब्द र कवितामा मात्र नखोज्नुहोस्। बालेन आफैं बदनाम हुन तयार छन् तर देश बदनाम हुने कुनैपनि तत्वसँग मिल्दैन। देशलाई माया गर्ने हामी बिचकै मान्छे हुन् बालेन।”

बस्नेतले हर्क साम्पाङलाई सम्बोधन गर्दै भनेका छन्, “प्रिय हर्क सर, तपाईँका लागि भोट माग्ने म पनि एक हुँ, तपाईँलाई माया गर्ने म पनि एक हुँ। देशमा नयाँ सोच ल्याएको परिवर्तन तपाईँजस्ता जनसेवकले अगाडि बढाउनुहुन्छ भनेर नै म विश्वास गर्छु।”

उनले अन्त्यमा दुबै नेताहरूसँग देश र शहीदहरूको सम्मानमा मिलेर अघि बढ्न आग्रह गर्दै लेखेका छन्, “बिन्ति गर्छु, देश र शहीद दिदीबहिनीहरू सम्झेर दुवै जना एक ठाउँमा आइदिनुस्। अरूको कुरा सुनेर आवेग होइन, एक-अर्काको कुरा सुनेर योजना बुन्नुस् सुन्दर, शान्त नेपालको।”

बस्नेतको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा धेरैले समर्थन जनाएका छन्। कतिपयले उनलाई “समझदारीको स्वर” भन्दै प्रशंसा गरेका छन् भने केहीले देशको राजनीतिक र नेतृत्व तहमा देखिएको विभाजनबीच यस्तो सन्तुलित सन्देशको आवश्यकता रहेको बताएका छन्।

Leave A Reply

Your email address will not be published.