काठमाडौं :
फिल्म उद्योगमा आफ्नो फरक पहिचान बनाएकी अभिनेत्री केकी अधिकारी अहिले नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन्। सामाजिक भावना, प्रेम र सम्बन्धको गहिराइ बोकेको यस फिल्मलाई लिएर उनी निकै उत्साहित देखिएकी छन्। फिल्म मुख्यत ‘काजी’ र ‘काजिनी’को प्रेमकथामा आधारित छ।
हालै राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै केकीले ‘काजी’ लाई केवल एउटा साधारण प्रेमकथा मात्र नभई विश्वास, त्याग र सम्बन्धको गहिरो संसारको रूपमा व्याख्या गरेकी छन्।
‘हामी वास्तविक जीवनमा परिवार होस् वा आफूले प्रेम गरेको व्यक्ति, कहिलेकाहीँ म मात्रै बढी दिइरहेको छु कि भन्ने महसुस गर्छौँ। मानव मनोविज्ञान नै त्यस्तो हुन्छ। तर ‘काजी’ को संसारमा भने त्यो सोचभन्दा बिल्कुल फरक र भावनात्मक गहिराइ भेटिन्छ’, केकीले भनिन्।
रामायणको प्रसंग र काजिनीको समर्पण
फिल्मको कथालाई स्पष्ट पार्ने क्रममा केकीले रामायणको प्रसंग समेत जोडिन्। राम र सीताको कथामा सीताले वनवास गएर र अग्निपरीक्षा दिएर धेरै त्याग गरेको स्मरण गर्दै उनले भनिन्, ‘काजी’ को संसारमा काजिनीले काजीलाई त्यो स्तरभन्दा पनि माथि राखेर हेर्न सक्छिन्। फिल्ममा काजिनीले अनुभव गर्ने समर्पण र त्यागले नै यहाँ प्रेमले संसार थामेको छ भन्न सकिन्छ।’
काजिनीको पात्रबारे अर्को रोचक पक्ष खुलाउँदै केकीले भनिन्’ ‘काजिनीलाई ‘काजी’ जस्तो श्रीमान पाउनु कुनै संयोग नभई अघिल्ला जन्महरूको पुण्यको फलजस्तो लाग्छ। काजिनीले ६ जुनीसम्म गरेको पुण्यको फल सातौं जन्ममा काजीलाई पाउनु हो भन्ने भाव फिल्ममा छ।ू कजिनीका लागि माया, विश्वास र सम्बन्ध नै सबैभन्दा ठूलो कुरा भएको र काजीको अगाध प्रेमले नै आफू चरित्रमा वास्तविक कजिनी भएर बाँच्न सफल भएको उनले सुनाइन्।
विपिनसँगको सहकार्य र प्रतिक्षा\
विगत डेढ दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय केकीले सधैं फरक र सशक्त पात्र रोज्दै आएकी छन्। पछिल्लो समय ‘बोक्सीको घर’ जस्तो महिला केन्द्रित फिल्ममार्फत ठूलो चर्चा कमाएकी उनले यसपटक अभिनेता विपिन कार्कीसँग स्क्रिन सेयर गरेकी छन्। विपिनसँगको सहकार्यलाई उनले निकै सहज र स्मरणीय अनुभवको रूपमा लिएकी छन्। विपिनसँगको भावनात्मक केमेस्ट्री र पारिवारिक कथावस्तुले दर्शकलाई हलसम्म आकर्षित गर्ने उनको बलियो विश्वास छ।
लक्ष्मण रिजालको निर्देशनमा बनेको यो फिल्म यही जेठ ८ गतेदेखि देशभर प्रदर्शन हुँदैछ। ग्रामीण परिवेशमा आधारित यस फिल्मको सार्वजनिक ट्रेलर र गीतले सामाजिक सञ्जालमा निकै सकारात्मक प्रतिक्रिया पाइरहेका छन्। केकीको अभिनय यात्रालाई नजिकबाट हेर्नेहरूका लागि ‘काजी’ उनको परिपक्व अभिनयको अर्को एउटा बलियो अध्याय बन्ने अपेक्षा गरिएको छ।