सुचना, समाचार र मनोरन्जन

‘डोको बुन्ने’ मा झुम्यो नेपालगन्ज, ‘कुमारी’ प्रचार यात्रा भव्य रूपमा प्रारम्भ

नेपालगन्ज :

यही माघ २३ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘कुमारी’ को निर्माण टिमले बाँकेको नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ भव्य रूपमा सम्पन्न गरेको छ। फिल्मको प्रचार–प्रसारलाई तीव्र बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कन्सर्टमा हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो।

होटेल स्टार लाइटको प्राङ्गणमा आयोजित कन्सर्टमा फिल्मका मुख्य कलाकारहरू अभिषेक खड्का र आकृति राजभण्डारी, निर्देशक दिनेश राउत, पार्श्व गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्ड केहर एन्ड द लुङा का सदस्यहरूले दर्शकलाई साङ्गीतिक माहौलमा झुमाएका थिए।

कार्यक्रममा गायक केहर सिंह लिम्बुले फिल्म ‘कुमारी’ का चर्चित गीतहरू ‘डोको बुन्ने निगाली चोयाले’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ सँगै आफ्ना लोकप्रिय सिर्जनाहरू ‘सरर’ र ‘बैगुनी’ प्रस्तुत गरे। विशेष गरी फिल्मको बहुचर्चित गीत ‘डोको बुन्ने’ मा कलाकारद्वय अभिषेक र आकृतिले प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा दर्शकको उल्लेख्य साथ पाएका थिए।

सो अवसरमा निर्देशक दिनेश राउतले आफू सधैँ दर्शकको चाहना र रुचिलाई केन्द्रमा राखेर फिल्म निर्देशन गर्ने गरेको उल्लेख गर्दै ‘कुमारी’ लाई एक उत्कृष्ट प्रेमकथामा आधारित फिल्म बनाउने प्रयास गरेको बताए।

नेपालगन्जबाट सुरु भएको यो साङ्गीतिक यात्रा अब देशका विभिन्न सहरहरूमा पुग्ने निर्माण पक्षले जनाएको छ। तालिकाअनुसार टोली माघ ३ गते पोखरा, ६ गते चितवन, १० गते काठमाडौं र १७ गते झापाको दमकमा प्रस्तुत हुनेछ। माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष खुला कन्सर्टमा फिल्मको आधिकारिक ट्रेलर समेत सार्वजनिक गरिने तयारी गरिएको छ।

विनिश इन्टरटेन्मेन्ट को ब्यानरमा निर्माण भएको तथा पिक्चर फ्रेम को सहकार्य रहेको फिल्म ‘कुमारी’ का निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल रहेका छन्। फिल्ममा विकास सुवेदी को लेखन, सुसन प्रजापति को छायाङ्कन, सुप्रिम पराजुली को सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपाने को साउन्ड डिजाइन र साहस शाक्य को ब्याकग्राउन्ड स्कोर रहेको छ।

फिल्मका सबै गीतमा केहर सिंह लिम्बुको स्वर रहेको छ भने सङ्गीत केहर एन्ड द लुङा का सदस्यहरूको रहेको छ। गीतकारका रूपमा सागर लामिछाने मगर र सुमन तामाङ रहेका छन्।

Leave A Reply

Your email address will not be published.