काठमाडौं :
यही माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘परिवर्तन’ को टिमले प्रचारप्रसारलाई तीव्र बनाएको छ। निर्माण टिम कलाकारसहित यतिबेला पूर्वी झापामा पुगेर फिल्मको प्रचारलाई व्यापक बनाइरहेको छ।
हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा झापाको कन्काई माइ नदी किनारमा लाग्ने प्रसिद्ध माइमेला मा समेत फिल्मको प्रचार गरिएको थियो। लाखौँ दर्शकको उपस्थिति रहने उक्त मेलामा कलाकारहरूले दर्शकसँगै रमाइलो गर्दै फिल्मको प्रचारप्रसार गरेका थिए। पछिल्लो समय चर्चामा रहेको फिल्मको गीत ‘पाकेको चिउरी’ मा कलाकारसँगै हजारौँ दर्शकले नृत्य गर्दै उत्साहजनक साथ दिएका थिए।
फिल्मप्रति दर्शकको बढ्दो चासो देखेपछि अभिनेता सुशील श्रेष्ठ, अञ्जना बराइली लगायतका कलाकारहरू उत्साहित देखिएका छन्। फिल्मका निर्देशक विजय केरुङ ले माइमेलामा देखिएको दर्शकको उपस्थितिले आफू अत्यन्त खुशी भएको बताए। उनले प्रचारप्रसारलाई अझ तीव्र बनाउन झापाका विभिन्न कलेज तथा स्कुलमा पुगेर विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने योजना रहेको जानकारी दिए।
उनले भने,
‘फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रमोसनमा कुनै कसर बाँकी राख्दैनौँ। हिजो माघ १ गते माइमेलामा दर्शकसँगै रमाइलो गर्यौँ, आज स्कुल र कलेजमा पुग्नेछौँ।’
पछिल्लो समय लोकलयमा आधारित फिल्मको गीत ‘पाकेको चिउरी’ लाई दर्शकले विशेष रुचाएका छन्। साथै फिल्मको ट्रेलर तीन दिनमै ११ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ। दर्शकको यो उत्साहले फिल्मका कलाकार तथा निर्माण पक्ष थप उत्साहित बनेका छन्।
यतिबेला पूर्वी नेपालमा फिल्मका निर्माता दीपक सिवाकोटी, निर्देशक विजय केरुङ, अभिनेता सुशील श्रेष्ठ, अञ्जना बराइली लगायतको टोली सक्रिय प्रचारमा जुटिरहेको छ। एक्सन हिरोका रूपमा छुट्टै पहिचान बनाएका सुशील श्रेष्ठ र हिट फिल्ममार्फत दर्शकमाझ लोकप्रिय बनेकी अञ्जना बराइलीको केमेस्ट्रीले फिल्मप्रति थप हाइप सिर्जना गरेको निर्माण पक्षको दाबी छ।
फिल्मको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठको संवाद ‘पारसलाई मन परे दरबार, मन नपरे तलवार’ यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। टिकटक तथा अन्य सामाजिक सञ्जालमा यस संवादमा आधारित भिडियोहरू व्यापक रूपमा बनिरहेका छन्।
एक्सन–सस्पेन्स कथावस्तुमा आधारित फिल्म ‘परिवर्तन’ ले सत्ता, शक्ति र प्रवृत्तिको यथार्थ चित्रण गर्ने प्रयास गरेको देखिन्छ। अभिनेता सुशील श्रेष्ठको सशक्त एक्सनले दर्शकमाझ थप कौतुहलता पैदा गरेको छ। फिल्ममा सुशील र अञ्जनाका साथै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे को पनि प्रमुख भूमिका रहेको छ।
दिव्यासी फिल्म्स को ब्यानरमा निर्माण भएको यस फिल्ममा दीपक सिवाकोटी को कथा तथा लगानी रहेको छ। फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारी ले लेखेका हुन्। गीतमा रामजी लामिछाने को कोरियोग्राफी, एसडी योगी को संगीत, श्री श्रेष्ठ को द्वन्द्व निर्देशन रहेको छ भने सम्पादन बन्दे प्रसाद ले गरेका छन्। फिल्मको वितरण आरआर फिल्म्स ले गरेको हो भने ओएसआर डिजिटल ले सहकार्य गरेको छ।
