सुचना, समाचार र मनोरन्जन

‘कालकट्टी’ र ‘काकाको बिहे’ दुई नयाँ प्रोजेक्टको औपचारिक घोषणा,

काठमाडौं :

नेपाली फिल्म बजारमा दुई नयाँ प्रोजेक्ट थपिएका छन्। रघुजी फिल्म्स को ब्यानरमा निर्माण हुने नेपाली फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक रूपमा घोषणा गरिएको छ। दुवै फिल्म आगामी वर्ष २०८३ मा प्रदर्शनमा ल्याउने लक्ष्यसहित तयारी अघि बढाइएको निर्माण पक्षले जनाएको छ।

लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटा को सहकार्यमा निर्माण हुन लागेका यी फिल्महरूले फरक कथावस्तु र प्रस्तुति बोकेको दाबी गरिएको छ। निर्माण पक्षका अनुसार दुवै प्रोजेक्ट फरक स्वाद र फरक दर्शक वर्गलाई लक्षित गरी तयार गरिनेछन्।

माघ १ गते टिजर सार्वजनिक गर्ने तयारी भए पनि प्राविधिक तथा व्यवस्थापकीय कारणले टिजर रिलिज हुन सकेन। त्यसपछि निर्माण कम्पनीले पोस्टर सार्वजनिक गर्दै दुवै फिल्मको औपचारिक घोषणा गरेको हो। पोस्टर सार्वजनिक भएसँगै फिल्मप्रेमीबीच चासो बढेको निर्माण पक्षको भनाइ छ।

रघुजी फिल्म्सको ब्यानरमा बन्ने दुई फिल्ममध्ये ‘कालकट्टी’ पहिलो चरणमा छायांकनमा जानेछ। फिल्मको छायांकन माघ महिनाको अन्त्यतिर सुरु गर्ने तयारी गरिएको छ। कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी निर्माण पक्षले दिएको छ।

फिल्म ‘कालकट्टी’ का निर्माता रघुनाथ सापकोटा हुन्। कथा, पटकथा, संवाद तथा निर्देशनको जिम्मेवारी अमरदीप सापकोटा ले सम्हालेका छन्। छायांकन निसाल पौडेल ले गर्नेछन् भने संगीत भीम बिष्ट ले दिनेछन्।

फिल्मको नेपालभरको वितरण आरआर फिल्म्स ले गर्नेछ। यसका साथै फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटल ले लिएको छ। निर्माण पक्षका अनुसार यसले फिल्मको बजार पहुँच र व्यवसायिक सम्भावनालाई बलियो बनाउनेछ। निर्माण टिमले छिट्टै टिजर, कलाकार सूची तथा छायांकन तालिकासम्बन्धी थप विवरण सार्वजनिक गर्ने जनाएको छ। ‘कालकट्टी’ को छायांकन सम्पन्न भएपछि दोस्रो प्रोजेक्ट ‘काकाको बिहे’ को छायांकन सुरु गरिनेछ।

Leave A Reply

Your email address will not be published.