काठमाडौँ :
जर्जियाको राजधानी तिब्लिसीमा सम्पन्न आठौँ संस्करणको ‘वर्ल्ड राइजिङ स्टार’ प्रतियोगितामा नेपाली प्रतियोगी समृद्धि शाह ले शीर्ष उपाधि जितेकी छन्। ‘डिएसए स्टार सिजन १६’ अन्तर्गत डान्सिङ विधाकी विजेता समृद्धिले ७ देखि १० वर्ष उमेर समूहमा विश्वका ४० भन्दा बढी देशका प्रतिस्पर्धीलाई पछि पार्दै विश्व ताज पहिरिएकी हुन्।
समृद्धि हाल काठमाडौँको तारकेश्वरस्थित युनाइटेड स्कलर्स एकेडेमी मा कक्षा ४ मा अध्ययनरत छिन्। यसै प्रतियोगितामा नेपालबाट सहभागी भएका ‘डिएसए स्टार सिजन १५’ का विजेता प्रनिक थापा ले ‘ग्राण्ड प्रिक्स ट्यालेन्ट’ उपाधि हात पारेका छन्। प्रनिक नागार्जुनस्थित काठमाडौं भ्याली स्कुल मा कक्षा ३ मा अध्ययनरत छन्।
प्रतियोगिता जनवरी ८ देखि १३ तारिखसम्म सञ्चालन भएको थियो। नेपालबाट परिवर्तन इभेन्ट हाउस ले समृद्धि र प्रनिकलाई प्रतियोगितामा सहभागी गराएको हो। उनीहरूसँगै संस्थाका निर्देशक राज बराइली पनि जर्जिया पुगेका थिए। प्रतियोगितामा बराइलीले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय निर्देशक (Best International Director) को अवार्ड प्राप्त गरेका छन्।
प्रतियोगिताका क्रममा नेपाली प्रतियोगीहरूले नृत्य प्रस्तुतिसँगै नेपाली कला, संस्कृति र मौलिक खानाको प्रदर्शनी समेत प्रस्तुत गरेका थिए। परिवर्तन इभेन्ट हाउसले यसअघि पनि दुई पटक ‘वर्ल्ड राइजिङ स्टार’मा नेपालबाट प्रतिनिधित्व गराइसकेको छ। ती दुवै संस्करणमा नेपाली बालबालिकाले विश्व उपाधि जितेका थिए।
