सुचना, समाचार र मनोरन्जन

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा–आराधना गरिँदै

काठमाडौँ,

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका पूजा कोठाहरूमा नवदुर्गा भवानीको चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा-आराधना गरिँदैछ ।

पौराणिक मान्यताअनुसार सृष्टिको रचना हुनुअघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिइन् । आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई ुकुष्माण्डाु तथा सृष्टिको आदिस्वरूपा र आदिशक्तिकी देवी भन्ने गरिन्छ । उष्णता तथा शीतलतालाई समतुल्य बनाई सृष्टि गर्ने शक्ति भएकी यी देवीको बास सूर्यमण्डलभित्र रहने धार्मिक विश्वास छ ।

Chaka Panja

आठ वटा हात भएकी यी अष्टभूजा देवीको वाहन सिंह हो । यिनका सात हातमा क्रमशः कमण्डलु, धनुष, बाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा तथा आठौँ हातमा सर्वसिद्धि र निधि प्रदान गर्ने माला रहेको छ । देवीले हातमा सृष्टिको आधार मानिने रक्तपूर्ण दुई वटा घडा समेत लिएकी छन् । यिनको भक्तिपूर्वक पूजा–आराधना गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुने विश्वास गरिन्छ ।

कुष्माण्डा देवीलाई कुभिण्डोको बलि प्रिय लाग्ने गर्दछ । संस्कृतमा कुभिण्डोलाई ुकुष्माण्डाु भनिने र यसलाई देवीको प्रतीक मानेर शक्ति पीठहरूमा विधिपूर्वक पूजा तथा बलि चढाउने परम्परा रहेको छ । साथै, यस दिन देवीलाई मालपुवा प्रसादका रूपमा चढाउने, दान गर्ने र ग्रहण गर्ने चलन छ, जसबाट बुद्धिको विकास हुने शास्त्रीय मान्यता छ ।

शास्त्रोक्त विधिअनुसार बिहान सबेरै नित्यकर्म सकेर शुद्ध वस्त्र धारण गरी कलश, दीप र गणेश स्थापना गरेर संकल्पसहित कुष्माण्डा देवीको पूजा गरिन्छ । पूजामा कमल तथा राता फूल, पञ्चामृत, फलफूल र नैवेद्य अर्पण गरिन्छ । पूजाका क्रममा देवीको ध्यान मन्त्र ‘सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च । दधाना हस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु मे ।।’ उच्चारण गर्दै कुष्माण्डा स्तोत्र, कवच वा दुर्गा सप्तशती चण्डी पाठ गरी आरती र प्रसाद वितरण गर्ने गरिन्छ ।

नवरात्रको चौथो दिन आज पनि देशभरका प्रमुख नवदुर्गा मन्दिर तथा शक्ति पीठहरूमा कुष्माण्डा देवीको दर्शन एवं पूजाआजाका लागि बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।

Leave A Reply

Your email address will not be published.