काठमाडौं :
भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक गरिएको छ। प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
सुरज तामुको शब्द तथा संगीत रहेको गीतमा सुजसँगै शान्ति श्री परियारको स्वर रहेको छ भने मनोज थापा मगरले संगीत संयोजन गरेका छन्। मौलिक स्वादको गीतमा प्रेमलाई सम्झनलायक र भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राईको अभिनय देख्न सकिन्छ।
फिल्मको कथावस्तुसँग जोडिने गरी सार्वजनिक गरिएको गीतले ‘पेन्सन पट्टा’मा रहेको प्रेम र सम्बन्धको पक्षलाई समेत संकेत गर्छ । बाहिरबाट लाहुरे जीवन पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडिए पनि त्यसको भित्री जीवनमा रहेका पारिवारिक सम्बन्ध, प्रेम, त्याग, विछोड र भावनात्मक संघर्ष फिल्मको कथाको महत्वपूर्ण हिस्सा रहेको निर्माण पक्षले जनाएको छ ।
‘पेन्सन पट्टा’ले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ। पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढ्छ। वर्षौंदेखि परिवारको स्मरणबाट समेत ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रमार्फत हराएको पेन्सनपट्टासँगै पारिवारिक विगत, सम्बन्धको दूरी, पहिचान र पेन्सन अधिकारसँग जोडिएका जटिलता कथामा जोडिएका छन्।
भूतपूर्व गोर्खालीको योगदानसँग जोडिएको पेन्सनले परिवारमा पार्ने प्रभाव फिल्मको महत्वपूर्ण पक्ष भए पनि कथा पेन्सनमा मात्र सीमित नरहेको निर्देशक माओत्से गुरुङले बताएका छन्। प्रेम, भावना र पारिवारिक सम्बन्धका विभिन्न तहलाई समेत फिल्ममा प्रस्तुत गरिएको उनले बताएका छन्। निर्देशक गुरुङले करिब १२–१५ वर्षदेखि फिल्म निर्माणको सोच बोकेको बताएका छन्।
गोर्खालीको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने समस्या र त्यसले पारिवारिक सम्बन्धमा ल्याउने उतारचढावलाई कथामा समेटिएको उनको भनाइ छ। धन, सम्पत्ति र प्रतिष्ठाभन्दा मानवीय सम्बन्ध, त्याग र आत्मिक सन्तुष्टिलाई फिल्मले प्राथमिकता दिएको निर्देशक गुरुङले बताएका छन्।
‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक हुनुअघि फिल्मले पोस्टर, टिजर, पहिलो गीत तथा ट्रेलर सार्वजनिक गरिसकेको छ। सार्वजनिक भएका प्रचार सामग्रीले दर्शकको ध्यान तानेपछि प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारप्रसारलाई थप तीव्र बनाएको छ। नयाँ गीतले फिल्ममा रहेको प्रेमकथा र कलाकारको सम्बन्धलाई दर्शकमाझ थप उत्सुक बनाउने अपेक्षा निर्माण पक्षको छ।
फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ। फिल्मलाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन् । मीन कोन्मे गुरुङ (सिकलेस),भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजर छन्। सुशन प्रजापतिले छायांकन तथा सुरज तामुले कास्टिङ निर्देशन गरेका छन्।
फिल्मको संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका छन्। निमेश श्रेष्ठ र केर डी कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। सुरज तामु र केर डी कोइन्च लिनुच सह–लेखक रहेको फिल्ममा राजेन्द्र मोक्तान कलरिस्ट तथा राजु याकचा कला निर्देशकका रूपमा रहेका छन्।
माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) प्रमाणीकरण पाएको छ। प्रमाणीकरणसँगै फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने भएको छ । फिल्म भदौ २६ गते शुक्रवारदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।