सुचना, समाचार र मनोरन्जन

‘ल्याङ्ग ल्याङ्ग’मा मुख्य कलाकारको लाइनअप पुरा

काठमाडौं :

सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा कलाकार प्रजल दुलाल अनुबन्धित भएका छन्। सिनेमाका निर्देशक बलिराम चौहानले सिनेमाको मुख्य भूमिकामा प्रजल दुलाललाई अनुबन्धित गरेका बताएका हुन्। प्रजल अनुबन्धित भएसँगै सिनेमाका मुख्य कलाकारको लाइनअप पुरा भएको निर्देशक चौहानले बताए।

यसअघि प्रजलले ‘बलिदान’, ‘बिमान’ र ‘अक्षरा’ अभिनय गरिसकेका छन् । हाल उनी ‘तीन तीघ्रे क्या बिग्रे’को छायांकनमा व्यस्त छन्। इटहरीमा जन्मिएका प्रजल सानैदेखि रेडियोमा काम गर्थे। रेडियोमा काम गर्दै गर्दा उनले रंगमञ्चको यात्रा सुरु गरे। कलालय इटहरीको स्कुल थिएटरमा गुरु सोनु जयन्तीर प्रज्वल पराजुलीसँग उनले अभिनय सिकेका हुन्।

उनले कलालय इटहरी, आरोहण गुरुकुल, पश्चिम बंगाल, भारत साथै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय नाट्य महोत्सवहरूमा करिब दुई दर्जन भन्दा बढी नाटकमा अभिनय, लेखन र निर्देशन गरिसकेका छन् भने दर्जनौ सर्ट सिनेमा,म्युजिक भिडियो सिरिज, टिभिसी विज्ञापनमा समेत अभिनय गरिसकेका छन्। त्यससँगै उनले नीर शाह निर्देशित ‘कमला मिस’को पटकथा तथा संवाद लेखनमा नीर शाह र सुगम दुलालसँग सहकार्य गरेका छन्  यसअघि नै यो सिनेमाको मुख्य भूमिकामा रिहान गिरी,सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भैसकेका छन् । मुख्य अभिनेत्रीमा गुराँस ढकाल आबद्ध भएकी छन्।

स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने सिनेमाले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ। विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्ने तयारी रहेको निर्देशक चौहानले बताए।असोज पहिलो हप्ताबाट फ्लोरमा निस्कने तयारीमा छ। हाल धमाधम प्रि-प्रोडक्सनको काम भैरहेको छ। कथाअनुसार सिनेमाको स्लोगन पनि युवा केन्द्रित ‘हरेक युवाको कथा’ राखिएको छ।

नेपाली युवापुस्ताले आफ्नो सर्कलमा साथीभाइबीच एउटै कुरामा हुने दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्छन्। सिनेमाले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढावलाई समेट्ने टिमको दाबी छ। सिनेमाको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले लेखेका हुन्। सिनेमा भोलानाथ कटुवालको लगानीमा बन्नेछ।

Leave A Reply

Your email address will not be published.