सुचना, समाचार र मनोरन्जन

‘माग्ने राजा’को हँसिलो टिजर सार्वजनिक, केदार घिमिरे मुख्य भूमिकामा

काठमाडौं : 
दर्शकलाई हल्का हाँसो दिँदै आएका हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अब ठूलो पर्दामा ‘माग्ने राजा’ को रुपमा आउने भएका छन्। सोमबार सार्वजनिक गरिएको टिजरले उनलाई नयाँ र मनोरञ्जनात्मक स्वरूपमा प्रस्तुत गरेको छ।

पौने दुई मिनेट लामो टिजरमा रमाइला संवाद, चुट्किला दृश्य र केदारको हास्य क्षमता प्रस्ट झल्किएको छ। टिजरले फिल्म दर्शकलाई गुदगुद्याउने मात्रै होइन, पूर्ण रमाइलो दिने तयारीमा रहेको संकेत गर्छ।

चलचित्रमा केदार घिमिरेसँगै हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) पनि देखिएका छन्। टिजरअनुसार उनी केदार घिमिरेका भान्जाको भूमिकामा छन्। टेलिभिजन पर्दामा चर्चित माग्ने बुढा र तक्मे बुढाको यो जोडी पहिलो पटक ठूलो पर्दामा सहकार्य गर्दैछ।

फिल्ममा वर्षा सिवाकोटी र शिशिर वाङदेलको पनि अभिनय देख्न सकिन्छ। यद्यपि, टिजरले उनीहरूको भूमिकाबारे धेरै खुलाएको छैन।

पोस्टरमार्फत् नै केदारलाई फरक अवतारमा प्रस्तुत गरिसकेको निर्माण टिमले टिजरमा पनि उनलाई नयाँ शैलीमा देखाएको छ। हास्य अभिनयमा ख्याती कमाएका केदार घिमिरेको यो पहिलो मुख्य भूमिका हो।

‘माग्ने राजा’ आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। मुनाल घिमिरे प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको फिल्मको निर्देशन ऋषि लामिछानेले गरेका हुन्।

चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको पटकथा, सुजिल कर्माचार्यको पाश्र्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ। टिजर साहिल खानले सम्पादन गरेका हुन्।

‘माग्ने राजा’ आगामी भदौ ६ गते नेपालसहित विभिन्न विदेशस्थित नेपाली दर्शकसमक्ष रिलिज हुने तयारीमा छ। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।

Leave A Reply

Your email address will not be published.