सुचना, समाचार र मनोरन्जन

दयाहाङ र प्रकाश सपूतले थाले ‘मिरमिरे’को वर्कसप

काठमाडौं :

दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहने फिल्म ‘मिरमिरे’को वर्कसप सुरु भएको छ।आइतबारदेखि फिल्मको वर्कसप थालिएको हो। फिल्म ‘कार्साङ’का निर्देशक यम शेर्पाको निर्देशनमा बन्ने यस फिल्ममा फिल्मका मुख्य कलाकारहरु वर्कसपमा जुटेका छन्। निर्देशक शेर्पाका अनुसार छायांकनअघि कलाकारहरूबीच समन्वय सहज बनाउने उद्देश्यले वर्कसप थालिएको हो।

मिडियासँगको कुराकानीमा निर्देशक शेर्पाले भने,‘सुटिङमा सहजता होस् भनेर वर्कसप सुरु गरेका हौं। यसले कथालाई बुझ्न र कलाकारबीचको सम्वादमा सहजता ल्याउँछ, जसले छायांकन छिटो सम्पन्न गर्न मद्दत पुर्‍याउनेछ।’

फिल्मको वर्कसप हाल कान्तिपुर फिल्म एकेडेमीमा चलिरहेको छ। छायांकन यही शुक्रबारबाट सुरु हुने जानकारी दिइएको छ। फिल्मको अधिकांश छायांकन काभ्रेपलाञ्चोक जिल्लामा गरिनेछ। ‘मिरमिरे’ मा दयाहाङ र प्रकाश पहिलो पटक सहकार्य गर्दै छन्। निर्देशक शेर्पा र दयाहाङबीच भने यो दोस्रो सहकार्य हो। उनीहरूले यसअघि फिल्म ‘कार्साङ’ मा सँगै काम गरेका थिए।

यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्ममा सिर्जना निङलेखु र माओत्से गुरुङको समेत अभिनय रहनेछ। चलचित्रको कथा तथा निर्देशन यम शेर्पाले स्वयं गरेका हुन्। यद्यपि, उनले कथावस्तुबारे हालसम्म कुनै खुलासा गरेका छैनन्। फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन्। सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ रहेका छन्। फिल्मका कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा चलचित्र वितरक रोहित कट्टेल रहेका छन्।

‘मिरमिरे’ २०८२ सालमा प्रदर्शनमा आउने तयारीमा निर्माण पक्षको छ। तर कुन महिना या कति गते प्रदर्शन गर्ने हो अझै तोकिएको छैन।फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।

Leave A Reply

Your email address will not be published.