काठमाडौं :
आगामी भदौ ६ गतेबाट प्रदर्शन आउन लागेको फिल्म ‘माग्ने राजा’को शीर्ष गीत सार्वजनिक भएको छ। सोमबार ललितपुरको लविङ मलस्थित हलमा फिल्मको गीत ‘सुतेर उठेको पैसा’मा सार्वजनिक गरिएको हो। गीतमा शीर्ष पात्रको रुपमा देखिएका केदार घिमिरेलाई प्रस्तुत गरिएको छ। जहाँ थुप्रै ‘माग्ने राजा’ अवतार उनी प्रस्तुत भएका छन्। यस गीतमा शब्द,संगीत,र गायन बाबुल गिरीको छ। गम्भीर विष्टको नृत्य निर्देशन रहेको छ।
गीतको शब्दभाव अनुसार सडकमा पोलेको मकै खाने, तरुनी घुमाउने, म्युजिक भिडियो खेल्ने, क्लब डिस्को जानेदेखि नासाको अन्तरीक्ष वैज्ञानिक बनेको जस्ता धेरै चरित्रमा उनलाई प्रस्तुत गरिएको छ। केदारदलाई विल्सनविक्रम राईले पनि साथ दिएका छन्। गीतको अन्त्यमा पैसाको लागि कसैलाई दुःख दिन नहुने र पढ्ने बेलामा राम्रोसँग पढ्नुपर्ने सचेतना सन्देश पनि दिइएको छ।
मुनाल घिमिरेको लगानी लगानी रहेको यो फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका छन्। पटकथा सामिप्य तिमल्सेनाको छ। भदौ ६ गतेदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्म पारिश्रमिक विवादले समेत चर्चामा छ। निर्माताले ६१ लाख रुपैयाँ पारिश्रमिक दिएको बताएका थिए भने केदारले यो कुरालाई खण्डन गरिसकेका छन्।