सुचना, समाचार र मनोरन्जन

नारीको सम्मानमा भर्जिनीयामा ‘सतीदेवी’

काठमाडौं :
‘सतीदेवी’ फिल्मको आउँदो शनिबार अर्थात साउन ३१ गते (१६ अगस्ट) अमेरिकाको भर्जिनियामा विशेष प्रदर्शनी गरिँदैछ। महिलाहरूको महान् पर्व तीजको अवसर पारेर, नारीहरूको सम्मानमा ‘सतीदेवी’ को विशेष शो गर्न लागिएको जानकारी आयोजक पुष्कर पन्तले दिएका छन्।

लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका तापनि, नेपाली चलचित्र निर्माण, कलाकारिता तथा समाजसेवामा समेत उत्तिकै सक्रिय पुष्कर पन्तले राष्ट्रियलगायत थुप्रै अवार्ड विजेता चर्चित फिल्म भएकाले आफूहरूले विशेष शो गर्न लागेको बताए।

“‘सतीदेवी’ को धेरै चर्चा सुनेको छु र यस प्रकारका मौलिक अनि पारिवारिक चलचित्र अझै बन्नु पर्छ, धेरैभन्दा धेरैले हेर्नुपर्छ भन्ने मान्यता स्वरूप विशेष शो गर्ने निर्णय गरेका हौं,” उनले भने, “हामी जो जहाँ रहे तापनि नेपाली कला, संस्कृति, मौलिकता र आफ्नोपन बचाइराख्नका लागि हरेकले आफ्नो तर्फबाट केही न केही पहल गर्नैपर्छ। सोही अन्तर्गत चर्चित फिल्मको शो गर्न लागेका हौं।”

Gandarbha

एभरेष्ट सूर्य बोहरा निर्देशित हिट फिल्म ‘ठूली’ का निर्माता पन्त ‘सतीदेवी’ हेर्न आफूहरू निकै आतुर रहेको बताउँछन्। चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार–०८० मा विशेष चलचित्र पुरस्कार जित्न सफल, नारीप्रधान चलचित्र ‘सतीदेवी’ ले अहिलेसम्म राष्ट्रियसहित एक दर्जन उत्कृष्ट अवार्डहरू जितिसकेको छ।

लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको चलचित्रमा मलिका महत, रमेश बुढाथोकी, सन्दिपबाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, बालकलाकार हर्षिका वली र मञ्जिला बानीयाँलगायतले अभिनय गरेका छन्। गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको चलचित्रका निर्माता दिलासा, सारा, श्रीदेवी र विशाल सुवेदी हुन्।

निर्देशक सुवेदीले ‘सतीदेवी’ को भर्जिनियापछि अन्य स्टेटहरूमा पनि विशेष शो हुने जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.