सुचना, समाचार र मनोरन्जन

‘महाभोज’को नयाँ पोस्टरमा दयाहाङ, आर्यन र खगेन्द्र

काठमाडौं :

‘सत्य कहिल्यै लुक्दैन’भन्ने नारासहित यही जेठ १५ गते रिलिजको तयारीमा रहेको फिल्म ‘महाभोज’को नयाँ पोस्टर सार्वजनिक भएको छ। ट्रेलर रिलिजको पूर्व सन्ध्यामा रिलिज गरिएको पोस्टरमा फिल्मका प्रमुख तीन जना पात्रहरू दयाहाङ राई,आर्यन सिग्देल र खगेन्द्र लामिछाने छन्।

ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेको पोस्टरले नेपाली समाजमा विद्यमान सामाजिक सङ्घर्षको चित्रण गर्छ। दयाहाङले दौरा(सुरुवाल, ढाका टोपी, र माला लगाएका छन्। उनको अनुहारमा गम्भीरता र जिम्मेवारीको भाव झल्किन्छ। पोस्टरमा खगेन्द्र केही असन्तुष्ट वा चिन्तित देखिन्छन्। यस्तै, आर्यन अनिश्चय, डर वा असहजताको भावमा देखिन्छन्। यी तीनै पात्रको अनुहारको भावनाले फिल्ममा हुने द्वन्द्व, द्वैधता र सङ्घर्षको सङ्केत दिन्छ।

यो फिल्मका निर्देशक दिनेश राउत हुन्, जसको निर्देशन शैली सशक्त सामाजिक सन्देश र कथा प्रस्तुतीकरणमा आधारित हुन्छ। उनको यो आठौँ फिल्म हो। क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यस फिल्मका निर्माता हिमाल कडरिया हुन्। फिल्मको कथा तथा पटकथा सुवेदीले लेखेका छन्।

यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहजस्ता कलाकारको अभिनय हेर्न पाइनेछ। ‘महाभोज’ नेपाली समाजको यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास हो, जसले सहकारी पीडितहरूको आवाजलाई पर्दामा उजागर गर्दैछ।

Leave A Reply

Your email address will not be published.