सुचना, समाचार र मनोरन्जन

महेश र सम्राटको ‘शरीर–मन–आत्मा’ काव्ययात्रा अब पुस्तकमार्फत

काठमाडौँ :

कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’बिहीबार एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। २०८२ मंसिर २५ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित किताबजात्रा कार्यक्रमअन्तर्गत पुस्तक लोकार्पण गरिएको हो ।

द्वैभाषिक (नेपाली–अंग्रेजी) रूपमा प्रकाशित कृतिमा कविका नेपाली मूल कवितासँगै उनका १४ वर्षीय छोरा सम्राट बाबु तिमल्सिनाद्वारा गरिएको अंग्रेजी अनुवाद समावेश छ। कृति शरीर, मन र आत्मा गरी तीन खण्डमा विभाजित छ, जसमा मानवीय संवेदना,सामाजिक यथार्थ, पहिचान, प्रकृति, प्रेम–वियोग र दार्शनिक चिन्तनका विषय समेटिएका छन्।

कार्यक्रममा कविता वाचन विशेष आकर्षणको रूपमा प्रस्तुत भयो। कवि तिमल्सिनाले ‘अन्तिम सलाम’ र ‘एउटा खराब सपना’ कविता नेपालीमा वाचन गरे भने त्यसपछि सम्राटले सोही कविताहरू अंग्रेजीमा प्रस्तुत गरे। द्वैभाषिक प्रस्तुतिले उपस्थित दर्शकलाई प्रभावित बनाएको आयोजकले जनाएको छ।

यसअघि प्रकाशित तिमल्सिनाको कृति ‘अजम्मरी अक्षरहरू’को शैलीलाई निरन्तरता दिँदै यसपटक पनि उनको लेखन जीवन, समाज र समयबोधका दृष्टिले महत्वपूर्ण रहेको समालोचकहरूले टिप्पणी गरे।

कवि तिमल्सिनाले सरल नेपाली भाषामा भावना अभिव्यक्त गरिएको र नयाँ पुस्तासम्म सन्देश पुर्‍याउने उद्देश्यले कृतिलाई द्वैभाषिक बनाइएको बताए । अनुवादक सम्राटले भने अनुवादलाई शब्दको होइन, भावनाको पुनःसर्जना भएको प्रतिक्रिया दिए।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका पूर्व राजदूत तथा प्राध्यापक डा. जयराज आचार्य, कवि तथा गीतकार विप्लव प्रतीक र मिडिया व्यक्तित्व टिकाराम यात्रीलगायत विशिष्ट अतिथिहरूले कृतिको चर्चा गरेका थिए। यात्रा प्रकाशन गृहद्वारा प्रकाशित ‘अक्षरहरूको क्यानभास’ हाल बजारमा उपलब्ध रहेको छ ।

Leave A Reply

Your email address will not be published.