काठमाडौं :
दशैंको फूलपाती (असोज १३) बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक ट्रेलरमा कमेडी, प्रेम, विछोड र संस्कृतिको मिश्रण देखाइएको छ। पारिवारिक कथामा आधारित यो फिल्मलाई ‘पावरफुल’ ट्रेलरका रूपमा प्रस्तुत गरिएको छ।
मिलन तामाङ निर्देशित फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे (माग्ने बुढा), प्रकाश सपुत, बुद्धि तामाङ, शिशिर वाङ्देल, युवराज लामा र रजनी गुरुङलगायत कलाकारको अभिनय छ।
रविन शेरचन र धिरज तामाङको लगानीमा बनेको फिल्ममा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता छन्। रामशरण पाठकको लेखन रहेको यसमा सुशन प्रजापति छायांकन (डीओपी), सुरेन्द्र पौडेल सम्पादन र अंकित तिवारी सह–सम्पादनमा छन्।
रोहित अधिकारी फिल्म्सको व्यानरमा निर्माण भएको ‘माइतीघर’मा कलाकार केदार प्रसाद घिमिरेको कमेडीलाई ट्रेलरमा विशेष रुपमा प्रस्तुत गरिएको छ। साथै फिल्मले तामाङ संस्कृतिको कथालाई बलियो ढंगले उठाएको देखिन्छ।
फिल्ममा स्व. जयदेवको संगीत, कविराज गहतराज र किरण थापाको कोरियोग्राफी, समिर मिया र सत्यम रानाको भीएफएक्स, साहिल खानको ट्रेलर निर्माण तथा अष्ट महर्जनको एक्सन समावेश छ।
दशैंको अवसरमा पारिवारिक कथा मन पराउने दर्शकलाई लक्षित फिल्म भएकाले ट्रेलर सार्वजनिक भएसँगै ‘माइतीघर’ प्रतिक्षित फिल्मका रूपमा उभिएको छ। फिल्मको शीर्ष गीतले पहिले नै दर्शकको मन जितिसकेको छ।