काठमाडौं :
चर्चित गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’को पोस्टर र प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले शनिबार फिल्मका मुख्य कलाकार विजज बराल र वर्षा राउतलाई पोस्टरमा राख्दै आगामी वैशाख २५ गतेलाई रिलिज डेट तोकिएको हो।
पोस्टरमा फिल्मको कथाका मुख्य मर्म र पात्रहरूको रसायनलाई आकर्षक ढङ्गले प्रस्तुत गरेको देखिन्छ। साथै मुख्य पात्र विजय बराल र वर्षा राउतलाई निकै आत्मीय र प्रेमिल मुद्रामा देखाइएको छ। विजयले वर्षाको काखमा आरामदायी भावमा टाउको राखेका छन् भने रातो रङ्गको ग्रामीण पहिरनमा सजिएकी वर्षाले विजयको टाउकोमा आफ्नो टाउको अड्याउँदै मुस्कुराइरहेकी छन्। विजय बस्यालले डिजाइन गरेको पोस्टरको पृष्ठभूमि र पात्रहरूको हुलियाले फिल्मले एउटा अर्ग्यानिक र माटोको सुगन्ध बोकेको ग्रामीण प्रेमकथा वा सामाजिक परिवेशलाई उठान गरेको आभास दिन्छ।
यस फिल्मका निर्देशक प्रकु पाण्डेयले फिल्मलाई एक विशुद्ध नेपाली पारिवारिक प्रेमकथाको रूपमा व्याख्या गरेका छन्। मिडियासँगको कुराकानीमा भने,‘यो परिवारको सबै उमेर समूहका सबै जना एकसाथ बसेर हेर्न सकिने फिल्म हो। यसले हाम्रो समाजको एउटा बलियो पाटोलाई उजागर गर्ने प्रयास गरेको छ।’
फिल्मको कथा पनि निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। रानी म्युजिक इन्टरनेशनल प्रालिको ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस यफिल्मको कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह–निर्माताहरूमा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत रहेका छन्।
विजय बराल र वर्षा राउतको मुख्य भुमिका रहेको यस फिल्ममा मेक्सम गौडेल,प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायतका अभिनय रहेको छ। महेश पौडेलले खिचेको यो फिल्मको सम्पादन रोमी मोजेजको, रङ्ग संयोजन कृष्ण भण्डारीले गरेका छन्। साथै ध्वनि मिश्रण डिकेश खड्गीको रहेको छ। फिल्मको डिजिटल वितरक ओएसआर डिजिटल तथा थिएटर वितरक आरआर फिल्म्स रहेको छ।
