सुचना, समाचार र मनोरन्जन

‘मन बिनाको धन–२’को काठमाडौँ सेड्युल सकियो, दोस्रो चरणका लागि टोली मुस्ताङ जाँदै

काठमाडौँ :

टङ्क बुढाथोकीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘मन बिनाको धन–२’ को काठमाडौँ उपत्यकाको पहिलो चरणको छायाङ्कन पूरा भएको छ। भदौ ३ गते शुभमुहूर्त गरी भदौ ४ गतेदेखि सुरु भएको छायाङ्कन २४ दिनसम्म चलेको थियो।

काठमाडौँ सेड्युल सकिएसँगै निर्माण टोली दोस्रो चरणको सुटिङका लागि मुस्ताङ जाने तयारीमा छ। केही दिनमै मुस्ताङ पुगेर चलचित्रका महत्त्वपूर्ण दृश्यहरू छायाङ्कन गरिने निर्माण पक्षले जनाएको छ।

टङ्क बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा परिवार, सम्बन्ध र भावनात्मक पक्षलाई मुख्य कथावस्तु बनाइएको छ। कथा निर्देशक बुढाथोकी स्वयंले तयार पारेका हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीको रहेको छ। चलचित्रमा सङ्गीत पनि निर्देशक बुढाथोकीकै रहनेछ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, ए.आर. बुढाथोकी, राजाराम पौडेल, किरण केसी, लक्ष्मी गिरी, प्रकाश घिमिरे, निर्मल शर्मा, रश्मिला तामाङ, प्रभातपाल ठकुरी र शङ्कर श्रेष्ठलगायतका कलाकारको अभिनय छ।

विष्णुमाया मैनाली बुढाथोकी निर्माता रहेको यस चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरिरहेका छन्। चलचित्रमा मित्र डि. गुरुङको सम्पादन, रेनिश फागोको रङ संयोजन (Coloring), कविराज गहतराजको नृत्य निर्देशन तथा शुक्रराज शाहको द्वन्द्व निर्देशन छ। त्यस्तै, नवराज शर्मा मुख्य सहायक निर्देशक र भोला सुवेदी ‘प्रताप’ प्रोडक्सन म्यानेजरका रूपमा कार्यरत छन्।

Leave A Reply

Your email address will not be published.