काठमाडौं : शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘के घर के डेरा : घर नम्बर २’को प्रिमियर भएको छ। प्रिमियरमा उपस्थित भएका अधिकांशले फिल्मको प्रशंसाा गरेका छन्। बुधबार काठमाडौंको सिभिल मलको अवस्थित क्युएफएक्स हलमा भएको प्रिमियरमा पुगेकी अभिनेत्री मनिषा कोइरालाले फिल्मको तारिफ गरेकी छन्।
उनले फिल्मको जुनसुकै दृष्किोणबाट हेर्दा पनि राम्रो भएको भन्दै निर्माण पक्षको तारिफ गरेकी छन्। ‘के घर, के डेरा : हाउस नम्बर २’ हेरें, र गहिरो रूपमा छोएको छ। गीत–सङ्गीत मात्रैमा सीमित नभई, नेपाली चलचित्र फरक कथाहरू बोल्न थालेका छन्,’उनले भनेकी छन्,‘जुन निकै खुसीको कुरा हो। नयाँ शैलिमा कथा भन्न खोजिएको छ। फरक दृष्टिकोण अपनाइएको देख्दा साँच्चिकै प्रगतिशील महशुस हुन्छ।’
उनले फिल्मको कथालाई गहिराईमा पुगेर पर्दामा उतारिकाएको उल्लेख गरेकी छन्।
उनी थप्छिन्,‘सहरमा बाँचिरहेका मानिसहरूको पीडा,संघर्ष र तिनै कठिनाइमा पनि बाँधिएको मानवियता र करुणा…। यी सबै पक्षहरूले मन छोयो। जीवनका उतार–चढावमा साथ दिने त्यो माया र दयालुता नै फिल्मको आत्मा हो।’
उनले अन्तिममा फरक विषय उठाएर यस्तो कथा देखाएकोमा पूरै टिमलाई मनदेखि धन्यवाद र शुभकामना भनेकी छन्।
दीपेन्द्र के खनालको निर्देशन बुद्धि सागरको लेखनमा निर्माण भएको यस फिल्ममा अभिनेता खगेन्द्र लामिछाने,निश्चल बस्नेत,केकी अधिकारी,आर्यन सिग्देल,उपासना सिंह ठकुरी,प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ। फिल्मले घरवाला र डेरावालाबीचको संघर्ष पिणालाई प्रस्तुत गरिएको छ। फिल्म भोलीबाट अर्थात जेठ २ गतेबाट नेपालभरका हलमा प्रदर्शन हुँदैछ।