पोखरा,
गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव ऋषिराज आचार्यले प्रदेशभित्र रहेका सञ्चार माध्यमको सबलीकरणका लागि बजार व्यवस्थापकको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने बताएका छन्। गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको प्रेस रजिष्ट्रारको कार्यालयद्वारा शुक्रबार पोखरामा आयोजित बजार व्यवस्थापन तथा विज्ञापन कला तालिमको समुद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै आचार्यले भने, “सञ्चार गृहलाई आर्थिक रूपमा सबल बनाउन र दिगो रूपमा टिकाउन दक्ष बजार व्यवस्थापकको खाँचो छ । यस्ता प्रकृतिका तालिमहरू मागका आधारमा जिल्ला तहसम्म लैजान आवश्यक छ ।” उनले गण्डकी प्रदेश सरकारले वार्षिक ५० लाख रुपैयाँभन्दा बढी रकम लोककल्याणकारी विज्ञापनका लागि विनियोजन गर्दै आएको स्मरण गराउँदै सञ्चार माध्यमले सरकारी सहयोगका अतिरिक्त निजी क्षेत्रसँगको सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रमकी अध्यक्ष एवं प्रेस रजिष्ट्रार बिमला भण्डारीले वस्तु तथा सेवालाई उपभोक्तासम्म पुर्याउन सञ्चार माध्यमले उद्यमी र व्यवसायीबीच पुलको काम गर्ने धारणा राखिन।मिडियाका लागि विज्ञापन अक्सिजन हो, भण्डारीले भनिन, उद्यमी व्यवसायीले विज्ञापनलाई फजुल खर्च नभई लगानीका रूपमा लिनुपर्छ, जसले स्वदेशी पुँजीलाई स्वदेशमै राख्न मद्दत गर्छ । उनले अबका सञ्चार माध्यमले परम्परागत शैलीलाई त्याग्दै डिजिटल मार्केटिङ र एआई जस्ता आधुनिक प्रविधिलाई आत्मसात् गर्नुपर्ने बताइन। आगामी वर्षहरूमा पनि बजार व्यवस्थापक लक्षित यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उनले गरिन।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केबी राना, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले समकालीन समयमा सञ्चार क्षेत्रले संकट भोगेको बारेमा चर्चा गरे। निजी क्षेत्र शिथिल भएको वर्तमान अवस्थामा सरकारले विज्ञापन कटौती गर्ने नीति लिँदा समग्र मिडिया क्षेत्र संकटको भुमरीमा फसेको भन्दै राज्यको ध्यानाकर्षण गराए।
तालिममा कान्तिपुर मिडिया ग्रुपका सिइओ महेश स्वाँर, सफल मिडिया हाउस प्रा।लि। का अध्यक्ष एवं प्रमुख दुर्गाप्रसाद हुमागाईं र आइटी इन्जिनियर विवेक घिमिरेले स्रोत व्यक्तिका रूपमा प्रशिक्षण दिएका थिए । उनीहरूले विज्ञापनको महत्व, बजारको वर्तमान अवस्था, विज्ञापन संकलनका प्रभावकारी कला, डिजिटल मार्केटिङ र आजको एआई दुनियाँले दिएको अवसरलाई मिडियाको हितमा कसरी प्रयोग गर्ने भन्ने विषयमा गहन प्रस्तुति दिएका थिए । प्रशिक्षकहरूले पाठक, स्रोता र दर्शकको विश्वास जित्दै विज्ञापन बजारलाई कसरी व्यावसायिक बनाउने भन्ने व्यावहारिक उपायहरू समेत सुझाएका थिए ।
गण्डकी प्रदेशका विभिन्न जिल्लाका मिडिया सञ्चालक तथा बजार व्यवस्थापकहरूको सघन सहभागिता रहेको यो कार्यक्रमलाई प्रदेशको सञ्चार इतिहासमा एउटा नयाँ र ऐतिहासिक सुरुवातका रूपमा लिइएको छ । प्रेस रजिष्ट्रारको कार्यालयका अधिकृत राजेश पौडेलले सञ्चालन गरेको यस कार्यक्रमले मिडिया क्षेत्रको व्यावसायिकता र प्राविधिक सुदृढीकरणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।