काठमाडौं:
शुक्रवार देशभर रिलिज हुने फिल्म ‘मोदीबेनी’को भव्य प्रिमियर भएको छ। कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रिमियरमा अधिकांश सेलिब्रेटीले तारिफ गरेका छन्। फिल्मकर्मी, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उनीहरुले ‘मोदीबेनी’हेरेपछि फिल्ममा आफुले ‘नसोचेको राम्रो’ भएको प्रतिक्रिया दिएका छन्।
प्रिमियरमा प्रतिनिधि सभा सदस्य शोबिता गौतम, पत्रकार दिल भुषण पाठक, कलाकारहरू रमेश उप्रेती, निर्मल शर्मा, विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, कलाकार तथा निर्देशक दीपा श्री निरौला, निर्देशक शोभित बस्नेत, कमेडियन हिमेश पन्त लगायत पुगेका थिए। उनीहरुले फिल्म एकदमै राम्रो बनेको प्रतिक्रिया दिए। ‘मोदीबेनी’ले कसैको मृत्युपश्चात् भएको एउटा अविश्वसनीय कथामा आधारित रहेर प्रेम, बदला र पारिवारिक कथा भनेको रैछ भन्ने कुरा धेरैले भनेका थिए।
प्रतिनिधि सभा सदस्य शोबिता गौतमले फिल्मको प्राविधिक तथा क्रियटिभ काम मन परेको बताईन्। पत्रकारसँगको कुराकानीमा उनले ‘सोसल कनट्र्याक्ट थ्यौरी’ अनुसार नै फिल्म बनेको चर्चा गरिन्। कमेडियन हिमेश पन्तले फिल्म रमाइलो र ट्विस्ट रहेको बताए। उनले फिल्मको ‘सस्पेन्स’ भागको चर्चा गरेका थिए।
अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाले आफूलाई फिल्मको ट्रेलरले नै प्रिमियरसम्म तानेको र अपेक्षा अनुसार कै फिल्म बनेको भन्दै कलाकारको प्रशंसामा समय खर्चिन्। उनले कुनै समय आफुले पनि यस्तै खाल्को कथामा फिल्म बनाउने योजना समेत रहेको जानकारी दिइन्। यहि फिल्मबाट अभिनेताका रुपमा डेब्यु गरेका अमर प्रताप श्रेष्ठ, अभिनेत्री वर्षा सिवाकोटीसहित सबै कलाकारको काम उत्कृष्ट रहेको उनको भनाई थियो।
अभिनेता रमेश उप्रेतीले हेर्दै आएका फिल्म भन्दा फरक लागेको बताए। निर्देशक शोभित बस्नेतले ‘मोदीबेनी’ साँच्चिकै राम्रो बनेको भन्दै धेरै पछि अभिनेत्री रेजिना उप्रेतीलाई ठुलो पर्दामा देख्दा खुसी लागेको बताए। उनले निर्देशकको काम पनि मन परेको प्रतिक्रिया दिए। अभिनेत्री अञ्जना बराइलीले नयाँ कलाकारहरूको काम झनै राम्रो रहेको बताइन्।
प्रिमियरमा नव अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेत्री वर्षा सिवाकोटी आकर्षणको केन्द्र बने। वर्षा सारीमा सुन्दर देखिएकी थिइन् भने अमरले वर्षासँगको ‘कलर म्याच’ रहेको पोसाकमा सजिएका थिए। अभिनेत्री रेजिना उप्रेती पनि सारीमा सजिएर पुगेकी थिइन्। नव अभिनेत्री स्नेहा भट्टराई पनि आकर्षक पहिरनमा प्रिमियरमा पुगेकी थिइन्।
प्रिमियरमा यसै फिल्मका कलाकार वर्षा, अमर, रेजिना, स्नेहासँगै प्रवीण खतिवडा, दिलीप के.सी., कमल मणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, सरोज लामिछाने, सुब्रत आचार्य, रोजी श्रेष्ठ, पूजन श्रेष्ठ लगायतको उपस्थिति थियो। साथै, निर्देशक शङ्कर कोइराला, डिओपी उत्सव दाहाल, सम्पादक भरत रेग्मी, निर्माताहरू दिलीप केसी र हरि श्रेष्ठ सहित क्रियटिभ तथा प्राविधिक टिमको पनि सहभागिता थियो।