ताप्लेजुङ : हिमालको जिल्ला ताप्लेजुङ। जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ- कञ्चनजङ्घा हिमाल। केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल। यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्य हिमाल छन्, जसको अनुपम सौन्दर्य जोकोहीलाई मोहित पार्ने खालको छ।
गत साता शार्फु-४ पिकमा पहिलोपटक मानव पाइल पुग्न सफल भएको छ। चिलीका एक विदेशी नागरिक हर्नान लील, पवतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले छ हजार ४३३ मिटर उचाइका शार्फु-४ हिमालको पहिलोपटक आरोहण गर्न सफल भएका थिए। गत कात्तिकमा चार दक्षिण कोरियन नागरिकले छ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु-५ पिक (हिमाली)को पहिलोपटक सफल आरोहण गरेको थियो।
पवतारोही नादा शेर्पाको अगुवाइमा शार्फु-४ र शार्फु-५ पिकको सफ आरोहण भएको हो। शार्फु- १ देखि छवटा पिक छ। आरोहणका लागि सरकारले खुला गरेको छ। तर अन्य तीनवटा पिक भने आरोहण भएको छैन। अन्य पिकमा समेत आरोहणको तयारी भइरहेको पर्वतारोही शेर्पाले बताए। “काठमाडौँ जानका लागि फुङ्लिङ आएको छु। काठमाडौंबाट अर्को पिक आरोहण गर्ने टोली लिएर आउने छु’, उनले भने। जिल्लामा पर्वतारोहण, साहसिक पर्यटकको सम्भावना रहेको शेर्पाले बताए। तर सरकारले यस क्षेत्रमा चासो नदेखाएकामा दुःख लागेको उनले गुनासो गरे।
जिल्लाका स्थानीय सरकारले प्रत्येक वर्ष पर्यटन प्रवर्ध नको नाम मेला महोत्सव आयोजना गरेर ठूलो धनराशि खर्च गर्दै आएको छ। तर यस्ता खालका मेला महोत्वसवले अन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन हुँदैन।’ विदेशी तथा स्वदेशी पर्वतारोहीलाई प्रोत्साहन गर्ने, हिमालहरूको प्रचारप्रसार गर्ने तथा पदमार्ग सहज बनाउने कार्यक्रम गर्न आवश्यक रहेको शेर्पाले बताए। नेपाल पर्यटन बोर्डका अनुसार ताप्लेजुङमा पाँच हजारदेखि आठ हजार ५८६ मिटरसम्मका हिमाल/पिक ४८ वटा आरोहणका लागि खुला गरको छ।
फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङचुङ्गोला क्षेत्रमा दुई र याङमा क्षेत्रमा चारवटा पिक आरोहणका लागि खुला गरिएको छ। पाँच हजार ७४० मिटरको लुम्बा सुम्बा पिक र छ हजार ५०० मिटरको लुम्बुम्बा पिक ओलाचुङगोला क्षेत्रमा पर्छ। यस्तै याङमा क्षेत्रमा छ हजार ५४७ मिटर उचाइको नाङ्गामरी-१, छ हजार २०९ मिटर उचाइका नाङ्गामरी-२, छ हजार ८३९ मिटरको उचाइका ओहोमी गाङ्का र छ हजार २४४ मिटरका पाबुक काङ (काङग्टा) पिक आरोहणका लागि सरकारले खुला गरेको छ।
सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ। आठ हजार ५८६ मिटर उचाइको कञ्चनजङ्घा प्रमुख, आठ हजार ४७४ मिटर उचाइमा रहेको दक्षिण कञ्चनजङ्घा, छ हजार १४८ मिटर उचाइको कोक्थाङ पिक, छ हजार ६८२ मिटरको रामथोङ पिक सरकारले आरोहणका लागि खुला गरेको छ। त्यस्तै सात हजार ४१२ मिटर उचाइका काब्रु सेन्ट्रल र सात हजार ३१८ मिटर उचाइको काब्रु पिकसमेत आरोहणका लागि खुला गरिएको छ। फक्ताङलुङ गाउँपालिका-६ घुन्सा क्षेत्रमा ३७ वटा हिमाल/पिक आरोहणका लागि खुला गरिएको छ।
जिल्लाको प्रमुख विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल यसै क्षेत्रमा पर्छ। यसको उचाइ आठ हजार ५८६ मिटर छ। सन् १८५२ सम्म यो हिमाललाई विश्वको सबैभन्दा अग्लो मानिएको थियो। तर, सन् १८४९ मा भारतको त्रिकोणमितीय सर्वेक्षणका अध्ययनअनुसार सगरमाथा सबैभन्दा अग्लो भएको पुष्टि भएपछि सन् १८५६ मा कञ्चनजङ्घालाई औपचारिक रूपमा विश्वको तेस्रो अग्लो हिमाल घोषणा गरियो। कञ्नजङ्घा हिमाल सन् १९५५ मा बेलायती पर्वतारोही जो ब्राउन र जर्ज ब्यान्डले २५ मेका दिन पहिलोपटक सफल आरोहण गरेका थिए। धार्मिक आस्थालाई सम्मान गर्दै उनीहरूले हिमालको चुचुरो यथावत राख्ने परम्परा शुरु गरे, जुन आजसम्म पालना हुँदै आएको छ।
कञ्चनजङ्घाको पाँच प्रमुख चुचुरा रहेका छन्। कञ्चनजङ्घा मुख्य आठ हजार ५८६, कञ्चनजङ्घा पश्चिम (यालुङ याङ) आठ हजार ५०५ मिटर, कञ्चनजङ्घामध्ये आठ हजार ४८२ मिटर, कञ्चनजङ्घा दक्षिण आठ हजार ४९४ मिटर र काङबाचेन सात हजार ९०३ मिटर रहेको छ। सरकारले यी पाँचवटै प्रमुख चुचुरामा आरोहण खुला गरेको छ।
ताप्लेजुङकै कुम्भकर्ण विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो। यसको उचाइ सात हजार ७१० मिटर छ। यसको मौलिक रैथाने तथा प्राचीन नाम फक्ताङ्लुङ हो। किरात धर्मावलम्बीले आफ्नो आस्थाको केन्द्र पनि मानेका देखिन्छ। कुम्भकर्ण हिमाल पहिलोपटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो।
पर्वतीय पथप्रदर्शक संघ नेपालका अध्यक्ष सन्दीप गुरुङका अनुसार ताप्लेजुङलगायत छ हजार मिटर उचाइको हाराहरीको हिमाल/पिक आरोहण गर्नका लागि पाँचदेखि छ जनाको समूहका लागि १५ लाख खर्च हुन्छ। ‘पाँच जनाको समूहमा दुई जना पथप्रदर्शक आवश्यक हुन्छ। पथप्रदर्शकलाई दैनिक पारिश्रमिक चार हजारदेखि छ हजारसम्म खर्च हुन्छ’, उनले भने। व्यक्तिगत आवश्यक सामग्री ६० हजारभन्दा बढी लाग्छ। हिमाल आरोहण गर्न पहिला प्रशिक्षण तथा ट्रेनिङ लिनुपर्ने हुन्छ। आरोहण गर्ने साहस जोकोहीले गर्न सक्ने गुरुङले बताए।
जिल्लामा अवस्थित पाँच हजारदेखि सात हजारसम्मका पिक नेपाली नगरिकले आरोहण गर्न प्रतिव्यक्ति पाँच लाखदेखि माथि खर्च हुने पथप्रर्दशक नादा शेर्पाको भनाइ छ। पर्वतीय पथप्रदर्शक संघ नेपालका अनुसार नेपालको हिमाल आरोहण विश्वभरका पर्वतारोहीका लागि एक अद्भूत अनुभव हो। तर, यो साहसिक यात्राका लागि धेरै तयारी, योजना र आर्थिक स्रोत आवश्यक पर्छ। हिमाल आरोहणको लागत हिमालको उचाइ, मौसम, आवश्यक गाइड तथा शेर्पाको सङ्ख्यालगायत विभिन्न कारकमा निर्भर गर्छ। उचाइ बढ्दै जाँदा खर्च पनि बढ्छ।
पथप्रदर्शक (गाइड) र शेर्पा शुल्क, मुख्य गाइड, शेर्पा (बोझ बोक्ने सहयोगी), आधार शिविर व्यवस्थापक अनुमति शुल्क आरोहण गर्न सरकारले तोकेको शुल्क तिर्नुपर्छ, जुन हिमालको उचाइअनुसार फरक हुन्छ। पर्वतारोहण जोखिमपूर्ण भएकाले गाइड, शेर्पा तथा आरोहीको बिमा गर्नुपर्छ। काठमाडौँबाट ताप्लेजुङको फुङ्लिङ, त्यसपछि पदयात्रा वा हेलिकप्टर भाडा, आवश्यक सामग्री (गियर) खरिद वा भाडा, खाना र आवास, आधार शिविर र बाटोभरि होटल तथा टेन्टको व्यवस्थापनमा खर्च हुने छ।
हिमाल आरोहण रोमाञ्चक र चुनौतीपूर्ण यात्रा हो, जसमा उचित तयारी आवश्यक पर्छ। विशेषगरी हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको असर, सुरक्षाजन्य चुनौती र खर्च व्यवस्थापनबारे सचेत हुनुपर्छ। आवश्यक सामग्री, उचित तालिम र अनुभवी गाइडका साथमा यात्रा गरे आरोहण सुरक्षित र सफल बन्ने पथप्रदर्शकको भनाइ छ।
