सुचना, समाचार र मनोरन्जन

हिमाल किन कालो हुँदैछ ? भन्ने विषयमा पोखरामा अन्तरक्रिया

पोखरा ।

पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा हिमाल किन कालो हुँदैछ भन्ने विषयमा परिचर्चा गरिएको छ । जसमा डब्लुडब्लुएफका आवसिय प्रतिनिधि घनश्याम गुरुङ, वातावरण विषयमा कलम चलाउँदै आएका पत्रकार कुन्द दीक्षित, वातावरण सम्बन्धि अध्ययन गर्दै आएका जगन्नाथ अधिकारी र अमिना महर्जनले बोलेका थिए । हिमाल कालो हुनुमा बढ्दो तापक्रम र धुलो धुवाँ प्रमुख कारण भएको उल्लेख गरिएको छ ।

कार्यक्रममा घनश्याम गुरुङले तापक्रम बढ्दै जाँदा हिउँ पग्लने र पहाड मात्र देखिने बताए । उनले कार्बन न्यूटल गर्दै जानुपर्ने आवश्यकतालाई जोड दिएका छन् । पानी बचाउनुपर्ने धारणा उनको छ । मानिसको जनजीवन बचाउन पनि खनिज पदार्थको प्रयोग कम गर्दै जानुपर्ने उनले बताए ।

पत्रकार कुन्द दीक्षितले जलवायु परिवर्तनका कारण हिमालमा हिउँ नभएको बताए । पानीमा मानव जीवनको सभ्यता भएको उल्लेख गर्दै वातावरणीय समस्याका रुपमा जलवायु परिवर्तन देखिएको उल्लेख गरे । उनका अनुसार खनिज पदार्थको प्रयोगले जलवायु परिवर्तन भइरहेको छ । नवकरणीय उर्जाको आवश्यकतालाई आत्मसात् गर्नुपर्ने धारणा उनको छ ।

अमिना महर्जनले हिमाल कालो हुँदा सबै क्षेत्रमा प्रभाव पर्ने बताइन् । पर्यटन, कृषि, स्वास्थ्य क्षेत्र समेत यस्तो जटिल समस्याबाट प्रभावित भएको भनाई उनको छ ।

डा.जगन्नाथ अधिकारी पोखराको लेकसाइडबाट पहिले हिउँ सहितको हिमाल देखिने तर अहिले कालो देखिन थालेको उल्लेख गरे । उनले हिमालय सँग संस्कार पनि जोडिएकाले हिउँ नहुँदा संस्कृतिमा समेत प्रभाव पर्ने बताए । जलवायु परिवर्तनलाई समस्याका रुपमा लिनुभन्दा पनि अवसरका विषयलाई समेत हेर्नुपर्ने भनाई उनको छ ।

Leave A Reply

Your email address will not be published.