सुचना, समाचार र मनोरन्जन

‘कुमुदे हिड्यो हिरो बन्न’ निर्माण हुने,नेपाल र बेलायतमा खिचिने

काठमाडौं :

नेपाली कथानक चलचित्र ‘कुमुदे हिड्यो हिरो बन्न’ को निर्माण हुने भएको छ। साहित्यकार तथा गीतकार जानकी पन्त जुनको निर्देशनमा बन्न लागेको यो चलचित्र नेपाल र बेलायतमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ।

कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता बिष्णु पन्त शर्मा आचार्य र सह-निर्माता चक्र बहादुर बराल रहेका छन्। चलचित्रका कार्यकारी निर्माता रंग पत्रकार तथा रेडियो प्रस्तोता भोला सुबेदी (आर्जे प्रणव) हुन्।

निर्देशक पन्तका अनुसार चलचित्र सत्यकथा र बायोपिकमा आधारित छ। जीवनमा हरेक पाटोमा “हिरो” बन्न चाहने एक पात्रको संघर्ष र यात्रा चलचित्रको मुख्य विषयवस्तु हुनेछ।

चलचित्रको छायांकन दाङको घोराही, पोखरा र काठमाडौंमा गरिनेछ भने केही दृश्य बेलायतमा छायांकन हुनेछन्। दाङको घोराहीबाट आउँदो सोमबार चलचित्रको मुहूर्त गरी छायांकन सुरु गरिने छ। करिब २० दिनको छायांकनपछि तिहार लगत्तै टिम बेलायत प्रस्थान गर्ने निर्माता पन्तले जानकारी दिए।

मुख्य पात्र ‘कुमुदे’को भूमिकामा अभिनेता कुमुद पन्तले अभिनय गर्नेछन्। चलचित्रमा दुई नायिका रहने भए पनि उनीहरूको नाम हाललाई सार्वजनिक गरिएको छैन।

चलचित्रमा महिला द्वन्द्व निर्देशक किरण दाहाल, संगीतकार बिपिन आचार्य र ओम सुनार, सम्पादक सन्देश शाह रहने छन्। चलचित्र २०७८ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

Leave A Reply

Your email address will not be published.