मुस्ताङ,
उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले मुस्ताङको कागखोलामा अस्थायी ‘बेलिब्रिज’ जडान शुरू गरेको छ।
एक महिनाभित्रै बेलिब्रिज जडान सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो । कोरला जोड्ने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीको कागखोलामा २०८० साउन २८ गते कागखोलाको बाढीले त्यहाँको पक्की मोटरेबल पुल बगाएको थियो । खोलामा पुल नहुँदा कोरला नाका र उपल्लो मुस्ताङ आउजाउ गर्न समस्या भएको थियो ।
कागखोलामा बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको राहुघाट गलेश्वरमा रहेको अस्थायी बेलिब्रिजलाई कागखोलामा स्थानान्तरण गरिन लागिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिए ।
म्याग्दीको राहुघाट खोलामा पक्की पुल निर्माण भइसकेकाले त्यहाँ राखिएको अस्थायी बेलिब्रिजलाई कागबेनीको कागखोलामा स्थानान्तरण गर्न लागिएको हो। साउन अन्तिमसम्म बेलिब्रिज जडान गर्ने कार्य सम्पन्न हुने उनको भनाइ छ ।
पक्की मोटरेबल पुल निर्माण प्रक्रिया ढिलो हुने देखिएकाले राहुघाट खोलाको पुल कागबेनीमा जडान गर्ने तयारी गरिएको हो ।
राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोघेकर दमोदरकुण्ड–२ घमीमा कोरला जोड्ने पक्की पुल निर्माणाधीन अवस्थामा छ । त्यसबाहेक बेनी–जोमसोम–कोरला सडक खण्डको अधिकांश ठाउँमा पक्की मोटरेबल पुल निर्माण भइसकेका छन् ।
कागखोलामा पुल नहुँदा बर्खायाममा उपल्लो मुस्ताङ आउजाउ गर्ने नागरिकलाई समस्या भएको छ । बेलिब्रिज निर्माण भए उपल्लो मुस्ताङ आउजाउ गर्नेलाई सहज हुने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए ।
